डोल्पामा एक बर्षदेखि चामल ढुवानी ठप्प


डोल्पा- उत्तरी छिमेकी चीनले अनुमति नदिँदा एक वर्षदेखि उपल्लो डोल्पामा चामल ढुवानी हुन नसक्दा सदरमुकाम दुनैमा चामल भएपनि उपल्लो डोल्पामा खाद्यान्न अभाव भएको छ ।
उपल्लो डोल्पामा चामल ढुवानी गर्न चीनको नाका प्रयोग गर्नुपर्छ तर एक वर्षदेखि चीनले नाका प्रयोगका लागि अनुमति नदिँदा ढुवानी गर्न नसकिएको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड डोल्पा प्रमुख कमलराज पाण्डेले बताउनुभयो ।
उपल्लो डोल्पाका बासिन्दाका लागि खाद्य व्यवस्था तथा व्यापार कम्पनीले सहरतारा र तिन्जेमा बिक्री केन्द्र राखेको छ । दुवै डिपोबाट तीन हजार क्विन्टल चामल बिक्री हुँदै आएको छ । त्यहीँबाट स्थानीयवासीले खरिद गर्दै आएका थिए, तर एक वर्षदेखि भने दुवै बिक्री केन्द्र रित्ता छन् ।
गत वर्ष उपल्लो डोल्पाका बासिन्दाले हिँडेरै सदरमुकाम दुनै, जाजरकोट र रुकुम पश्चिम पुगेर चामल लगेका थिए । यस वर्ष भने कोरोनाका कारण छिमेकी जिल्लाका बजारसम्म पनि आउन नसकेको शे-फोक्सुन्डो गाउँपालिकाका अध्यक्ष टासी तुन्डुप गुरुङले बताउनुभयो । तत्काल ढुवानी भएन भने उपल्लो डोल्पाका बासिन्दाले भोकै बस्नुपर्ने अवस्था आउन सक्ने उहाँको भनाइ छ ।
उपल्लो डोल्पाका लागि काठमाडौँबाट सोझै चीन भएर खाद्यान्न ढुवानी गरिँदै आएको थियो । कोरोनाका कारण केरुङ नाका बन्द भएपछि उपल्लो डोल्पामा चामल ढुवानी हुन पाएको छैन ।
अझ माथिल्लो डोल्पाको छार्काताङसोङ गाउँपालिकाका नागरिकले तीन आर्थिक वर्षदेखि सरकारी अनुदानको चामल पाएका छैनन् । तिन्जे बिक्री केन्द्रबाट गाउँपालिकाका नागरिकले चामल ढुवानी गर्न नसक्ने र मुस्ताङ वा दुनैबाट ढुवानीको व्यवस्था गराउन आग्रह गरे पनि सुनुवाइ नभएपछि चामल नपाएको गाउँपालिका अध्यक्ष सेनाङ गुरुङले बताउनुभयो ।
चामल पठाउन आपूर्तिमन्त्रीलाई पत्र
चामल कहिले पुग्ने ठेगान नभएपछि उपल्लो डोल्पाका तीन स्थानीय तहले हेलिकोप्टरमार्फत तत्काल खाद्यान्न ढुवानी गर्न माग गरेका छन् । उनीहरूले उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टलाई पत्र पठाएर तत्काल हवाईमार्गबाट चामल ढुवानी गर्न आग्रह गरेका हुन् ।रासस