सुदूरपश्चिममा शनिबार थप २८ जनामा कोरोना पुष्टि

बोलन्या थली | २७ भाद्र २०७७, शनिबार
सुदूरपश्चिममा शनिबार थप २८ जनामा कोरोना पुष्टि

धनगढी । सुदूरपश्चिम प्रदेशमा शनिबार थप २८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । प्रदेशका तीन वटा प्रयोगशालामा भएको परिक्षणमा आज थप २८ जना संक्रमित थपिएका हुन ।

सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा २० जना, जिल्ला अस्पताल डोटीको प्रयोगशालामा ६ जना र डडेल्धुरा अस्पतालको प्रयोगशालामा दुई जना गरी २८ जनामा संक्रमण पुष्टि भएको हो । पछिल्लो २४ घण्टामा प्रदेशका तीन वटै प्रयोगशालामा ६४४ जनाको कोरोना परिक्षण गरिएको थियो ।

यता धनगढीस्थित सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा पछिल्लो २४ घण्टामा परिक्षण भएका ३६८ नमुनाहरुमध्ये २० जनामा कोभिड १९ संक्रमण पुष्टि भएको हो । अस्पतालका सुचना अधिकारी दिलिप कुमार श्रेष्ठले कञ्चनपुरका १२ जना र कैलालीका ८ जनामा कोरोना पोजेटिभ देखिएको जानकारी दिए ।

उनले कैलालीको धनगढीका ४ जना, बर्दगोरिया गाउँपालिका वडा नम्बर ३ का दुईजना, टीकापुर नगरपालिका वडा नम्बर ८ का एकजना र लम्कीचुहाँ नगरपालिकाका एकजना गरी कैलालीका ८ जनामा संक्रमण पुष्टि भएको बताए ।

यस्तै कञ्चनपुरको भिमदत्त नगरपालिका वडा नम्बर १८ का १६ महिने शिशुसहित १० जना र वडा नम्बर १० का दुईजना गरी कञ्चनुरका १२ जनामा कोरोना पुष्टि भएको सुचना अधिकारी श्रेष्ठले जानकारी दिए ।

यस्तै डडेल्धुरा अस्पतालको प्रयोगशालामा पछिल्लो २४ घण्टामा परिक्षण भएका १५२ नमुनाहरुमध्ये २ जनामा संक्रमण पुष्टि भएको हो । प्रयोगशाला इन्चार्ज ईश्वरी प्रसाद भूषालले पछिल्लो २४ घण्टामा १५२ जनाको कोरोना परिक्षण भएको र दुई जनामा संक्रमण देखिएको जानकारी दिए ।

उनले डडेल्धुराको परशुराम नगरपालिका वडा नम्बर ६ का दुईजनामा कोरोना पोजेटिभ देखिएको बताए । अन्य १५० जनाको कोरोना परिक्षण रिपोर्ट भने नेगेटिभ आएको छ ।

उता जिल्ला अस्पताल डोटीको प्रयोगशालमा पछिल्लो २४ घण्टामा परिक्षण भएका १२४ नमुनाहरुमध्ये ६ जनामा संक्रमण देखिएको हो ।

प्रयोगशालाले दिएको जानकारी अनुसार डोटीका ५ जना र अछामका १ जनामा संक्रमण देखिएको हो । अछामको रामारोशन गाउँपालिकाका एकजना, डोटीको के।आई।सिंह गाउँपालिकाका दुईजना र सायल गाउँपालिकाका तीन जनामा कोरोना पोजेटिभ देखिएको हो ।

आज अछामको रामारोशन, डोटीको दिपायल लिगढी, सायल र के.आई.सिंह गाउँपालिका लगायतका ठाउँबाट संकलित नमुनाहरु परिक्षण गरिएका हुने । परिक्षण गरिएका अन्य ११८ जनाको रिपोर्ट नेगेटिभ आएको छ । योसँगै सुदूरपश्चिम प्रदेशमा कोरोना संक्रमितको संख्या ६ हजार ४३४ पुगेको छ ।

जनाअवजको टिप्पणीहरू