बलात्कारको घटनामा लापरबाही गरेको भन्दै प्रहरी जवान कारवाहीमा
कञ्चनपुर । कञ्चनपुरमा १६ बर्षिया किशोरीमाथि सामूहिक बलात्कार भएको घटनामा लापरबाही गरेको भन्दै एकजना प्रहरी जवान कारवाहीमा परेका छन ।
सुदुरपश्चिम प्रदेश प्रहरी कार्यालयका निमित्त प्रहरी प्रमुख एसएसपी मुकेश कुमार सिंहले ईलाका प्रहरी कार्यालय बेल्डाडीमा कार्यरत प्रहरी जवान रोहित रोकायालाई घटनामा लापरबाही गरेको भन्दै नियन्त्रणमा लिएको बताए ।
भदौ १४ गतेदेखि बेपत्ता किशोरी ५ दिनपछि फेला परेकी थिइन । उनलाई स्थानीय मनमोहन सिंह साउद लगायत ५/६ जनाले ५ दिनसम्म बन्धक बनाएर लागु औषध खुवाउदै बलात्कार गरेको भन्दै ईलाका प्रहरी कार्यालय बेल्डाडीमा उजुरी गरेकी थिइन ।
बेल्डाडी गाउँपालिकामा मामाको घरमा बस्दै आइरहेकी किशोरी भदौ १४ गते देखि बेपत्ता भएको भन्दै किशोरीकी मामाले प्रहरीमा उजुरी समेत दिएका थिए ।
किशोरीलाई भदौ १९ गते बेल्डाडीकै आरा मिल नजिक प्रहरीले फेला पारेको थियो । त्यसपछि प्रहरीले किशोरीलाई मामाको जिम्मा लगाएका थिए ।
घटनाको केही दिनपछि किशोरीले आफूमाथि ५/६ जनाले सामूहिक बलात्कार गरेको भन्दै प्रहरीमा उजुरी दिएपछि प्रहरीले बेल्डाडीकै मनमोहन सिंह साउदलाई पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय कंचनपुरका प्रबक्ता प्रहरी नायव उपरीक्षक अमर थापाले साउद पक्राउ परेको बताउदै अन्यको खोजी भैरहेको बताए । सामुहिक बलात्कारको सिकार भएकी युवतीको मेडिकल चेकजाँच पछि सेफ हाउसमा राखिएको बताइएको छ ।