सुदूरपश्चिममा आज थप १० जनामा कोरोना पुष्टि
कञ्चनपुर । सुदूरपश्चिममा आज थप १० जनामा कोरोना पुष्टि भएको छ । धनगढीस्थित सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा गरिएको परिक्षण मंगलबार थप १० जनामा संक्रमण पुष्टि भएको हो ।
प्रदेशका तीन वटा प्रयोगशालामा परिक्षण भएका १ हजार १० नमुनाहरुमध्ये १० जनामा संक्रमण देखिएको हो । यता सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा पछिल्लो २४ घण्टामा परिक्षण गरिएका ७८८ नमुनाहरुमध्ये १० जनामा संक्रमण पुष्टि भएको हो ।
अस्पतालका सुचना अपधकारी दिलिप कुमार श्रेष्ठले ४ जना कैलालीका र ६ जना कञ्चनपुरका नागरिकमा संक्रमण देखिएको जानकारी दिए । उनले कैलालीको लम्कीचुहाँ नगरपालिका वडा नम्बर १ र २ का एकरएक जना र धनगढी उपमहानगरपालिका वडा नम्बर ८ का दुईजनामा संक्रमण देखिएको बताए ।
यस्तै कञ्चनपुरको भिमदत्त नगरपालिका वडा नम्बर १८ का ५ जना र वडा नम्बर ५ का एकजनामा कोरोना पोजेटिभ देखिएको सुचना अधिकारी श्रेष्ठले जानकारी दिए । यस्तै डडेल्धुरा अस्पतालको प्रयोगशालामा पछिल्लो २४ घण्टामा परिक्षण भएका १५३ नमुनाहरुकै रिपोर्ट नेगेटिभ आएको प्रयोगशालाले जनाएको छ ।
उता जिल्ला अस्पताल डोटीमा पछिल्लो २४ घण्टामा परिक्षण भएका सबै नम्नाहरुको रिपोर्ट नेगेटिभ आएको छ । २४ घण्टामा परिक्षण भएका ६९ नमुनाहरुको रिपार्ट नेगेटिभ आएको अस्पतालले जनाएको छ । योसँगै सुदूरपश्चिम प्रदेशमा कोरोना संक्रमितको संख्या ६ हजार ३५५ पुगेको छ ।