फेरि मुग्लान पस्न थाले नेपाली
बोलन्या थली |
२२ भाद्र २०७७, सोमबार
कञ्चनपुर । कोरोनाको संक्रमण दिन-प्रतिदिन बढ्दै जाँदासमेत रोजगारीका लागि भारत जानेको संख्या बढ्न थालेको छ ।भारतमा संक्रमण बढ्न थालेपछि घर फर्किएका हजारौं नेपालीहरु अहिले गुजारा चलाउनै अप्ठेरो भएको भन्दै भारत छिर्न थालेका हुन् ।

पाँच महिनाअघि कैयौं दिन पैदल हिँडेर घर फर्केका सुदूरपश्चिमेलि अहिले कैलालीको टीकापुर, गौरीफन्टा नाका र कञ्चनपुरको गड्डाचौकी नाकाबाट भारत जान थालेका छन् ।लामो ‘लकडाउन’ र अहिले निषेधाज्ञाले दैनिकी चलाउन मुस्किल भएपछि बाध्य भएर भारततर्फ जान लागेको उनीहरुको भनाइ छ ।सरकारले गाउँमा रोजगारी सिर्जना गर्न नसक्दा दैनिक छाक टार्न भारत पस्नुपरेको उनीहरुको भनाइ छ ।

बर्षौदेखि भारतमा मज्दुरी गर्दै आईरहेका नेपालिहरुलाई कोरोनाको महामारी भन्दा भोकमरीले सताउन थालेको छ । कञ्चनपुरको डोके बजार प्रहरी चौकीको तथ्यांक अनुसार भदौ १३ गतेपछि एक सातामा भारतबाट ६ सय २८ जना नेपाल फर्किएका छन्। भारत पस्नेको संख्या भने त्यही अवधिमा १ हजार ५ सय ५२ छ। सीमामा रहेको नागरिक सहायता कक्षका दिनेश ठकुल्लाका अनुसार प्रत्येक दिन एक सयभन्दा बढी नेपाली मजदुरी गर्न भारत जाने गरेको बुझिएको छ ।

कुनैबेला लामो समय भारतमा काम गरेका सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले रोजगारीका अवसरहरू सिर्जना गरेर मजदुरीका लागि भारत जानुपर्ने बाध्यता अन्त्य गर्ने बताउँदै आएपनि प्रदेशमा रोजगारी सिर्जना गर्ने योजना र कार्यक्रमहरू सञ्चालन हुनसकेका छैनन् ।
आईतवारको तथ्याङ अनुसार नेपालमा कोरोना संक्रमितको संख्या ४६ हजार २५७ पुगेको छ भने कोरोनाकै कारण २८९ जनाले ज्यान गुमाई सकेका छन ।तर भारतमा भने त्यो संख्या कयौं गुणा बढी छ ।सुदूरपश्चिम प्रदेशको साढे २५ लाख जनसंख्याको ३० प्रतिशत जनसंख्या कामका लागि भारत आउजाउ गर्ने गरेको गैरसरकारी संस्था दाबी गर्दै आईरहेका छन ।


