डा. गोविन्द केसीको सत्याग्रह फेरि स्थगित


जुम्ला । वरिष्ठ हाडजोर्नी विशेषज्ञ डाक्टर गोविन्द केसीले सत्याग्रह फेरि स्थगित गरेका छन । डा. केसीले कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पतालमा पूर्वाधारसहित डाक्टर विषय पढाइलगायतका माग राख्दै सत्याग्रह बस्ने भन्दै जुम्ला आएका थिए ।
तर कोरोनाको प्रभाव बढेपछि केही समयका लागि भन्दै उनले सत्याग्रह स्थगित गरेका हुन ।डा. केसीले प्रेस विज्ञप्ति निकालेर यसबारेमा जानकारी दिएका हुन । विज्ञप्तिमा भनिएको छ , ‘महामारी फैलिँदै जाँदा जुम्लाबासीको विशेष आग्रहलाई मध्यनजर गर्दै सत्याग्रह कार्यक्रम केही समयका लागि स्थगन गरिएको छ ।’ यसैगरी सरकारले आफ्ना माग पूरा नगरेको खण्डमा कुनै पनि बेला सत्याग्रह गर्ने जानकारीसहित चेतावनीसमेत दिएका छन ।
यस्ता छन् डा. केसीका माग
डा. केसीले कर्णाली प्रतिष्ठानमा तत्काल पूर्वाधार र जनशक्ति पुर्याएर एमबीबीएस सञ्चालन, गेटा मेडिकल र राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा शीघ्र पूर्वाधार र जनशक्ति पुर्याएर पठनपाठन सुरु गरिनुपर्ने भनिएको छ ।
सरकारले २०७५ साल साउन १० गते भएको सम्झौताअनुसार चिकित्सा शिक्षा ऐनमा संशोधन गरिनुपर्ने, शिक्षा नियमावली सच्याउँदै स्नातकोत्तर तहमा खुलातर्फ ७० प्रतिशत सिट कायम गर्नुपर्ने, त्रिवि चिकित्सा शास्त्र अध्ययन संस्थानमा वरिष्ठता मिचेर भएको नियुक्ति सच्याउँदै सबै पदमा वरिष्ठताका आधारमा नियुक्ति गरिनुपर्ने लगायतका माग रहेका छन् ।