गौरीफन्टामा छुट्टै बिओपी खडा गर्ने तयारीमा कञ्चनपुर प्रशासन
कञ्चनपुर । कञ्चनपुरको सिमा नाका गौरीफन्टामा छुट्टै सशस्त्र प्रहरीको बिओपी खडा गर्न कञ्चनपुर प्रशासन जुटेको छ । कैलालीको सुरक्षा टोलीले सो क्षेत्र फिर्ता लिएसगै अहिले कञ्चनपुरको सुरक्षा टोली तैनाथ भएको छ ।
वषौँदेखि जिल्ला प्रशासन कार्यालय कैलालीले हेर्दै आएको गौरीफन्टा नाका अब कञ्चपुर प्रशासनले हेर्ने भएको हो । त्यसका लागी छुट्टै सशस्त्र प्रहरीको बिओपी खडा गरेर व्यवस्थापन गर्ने कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी नूरहरी खतिवडाले बताए ।
यस अघि सो नाकामा अवैध काम, दुव्र्यशनी लगायतका गलत क्रियाकलाप हुँदै आएको जनगुनासो बढेपछि कञ्चनपुर प्रशासनले गौरीफन्टामा अवैध रुपमा निर्माण गरिएका खोकाछाप्रा हटाउन निर्देशन दिईएको थियो ।
सीमानाकामा बनाईएका पक्की संरचनाका सन्दर्भमा समेत छिट्टै निर्णय लिने बताउँदै उनले सरोकारवाला पक्षसँग निरन्तर छलफल भईरहेको जानकारी दिए।
गौरीफन्टा नाका कञ्चनपुरको पुर्नवास नगरपालिका वडा नम्बर ११ मा पर्ने भएपनि विगतमा जिल्ला प्रशासन कार्यालय कैलालीले व्यवस्थापन गर्र्दै आएको थियो। सीमानाकामा सुरक्षाकर्मी परिचालन गरेपछि कञ्चनपुर प्रशासनले भन्सार कार्यालय समेत आफ्नो मातहतमा लैजान आवश्यक पहल थालिएको जनाएको छ।
यस अघि गौरीफन्टा क्षेत्रको जिम्मेवारी सहस्त्र प्रहरी निरिक्षक शैलेन्द्रसिंह चैसिरले पाएका थिए। उनलाई आर्थिक लाभ लिएर भारतीय नागरिकलाई भित्र्याएको आरोप लागेपछि राति नै उनी जिल्ला तानिएका थिए। अहिले गौरीफन्टामा सशस्त्र प्रहरी निरिक्षक राजेन्द्र कुँवरलाई जिम्मेवारी दिईएको छ ।