भोटले छानेका गायन प्रतिभा : सफलभन्दा गुमनाम धेरै
काठमाडौ : बिहीबार मात्र नेपाल आइडल सिजन –३ सकिएको छ । त्यसको विजेता सज्जा चौलागाईँ बनिन् । पछिल्लो समय नेपालमा यसत अनगिन्ति रियालिटी हुने गरेका छन् । यद्यपि, त्यस्ता सोबाट छानिएका कमै मात्र गायन प्रतिभा चर्चामा छन् । जनताको भोट निर्णायक भएर छानिएका गायक–गायिका छोटो समयमै गुमनाम हुने गरेका छन् ।
यस्ता गायक–गायिका प्रतिभाका आधारमाभन्दा भोटका आधारमा मात्र छानिने गरेको गुनासो धेरै आउने गरेको छ । यसले गर्दा नेपालमा भएका धेरैजसो रियालिटी सो विवादरहित हुन सकेका छैनन् । विजेताहरु जाति, क्षेत्र र जेन्डरका आधारमासमेत छानिने गरेको गुनासो छ ।
रियालिटी सोमा विजेता भएकाको तुलनामा उपविजेता र त्यसभन्दा पनि तल्लो पोजिसन प्राप्त गरेकाहरुले नेपाली संगीतलाई राम्रा गीत दिन सकेको कतिपयको विश्लेषण छ । यो कुरामा संगीतकार अर्जुन पोखरेलको पनि सहमति छ । गायन प्रतिभा राम्रो हुँदा–हुँदै पनि भोट कम आएका कारण धेरै प्रतिभाहरु रियालिटी सोको विजेता बन्न नसकेको संगीतकार पोखरेलको ठहर छ ।
त्यसैले, आफूहरुले गीत गाउन दिने मामिलामा उपाधिलाईभन्दा प्रतिभालाई प्राथमिकता दिने गरेको उहाँको भनाइ छ । ‘हामी कुनै पनि रियालिटी सोको विजेता हो भनेर गीग गाउन दिइहाल्दैनौं । उसमा कति प्रतिभा छ भनेर पनि जाँच्छौं ।
रियालिटी सोमा माथि पुग्न सकेको छैन तर कसैको स्वर राम्रो छ भने उसलाई हामी गाउने अवसर दिन्छौ’, उहाँले थप्नुभयो, ‘जसको गायनक्षमता राम्रो छ त्यो नै हाम्रा लागि नम्वर एक हो ।’ रियालिटी सो जितेकाभन्दा अन्य नै बजारमा हिट छन् नि किन ? संगीतकार पोखरेललाई प्रश्न गर्यो । दर्शकको भोटका आधारमा जितेका रियालिटी सोका कतिपय विजेता बजारमा टिक्न नसक्ने गरेको उहाँको भनाइ छ ।
‘विजेताभन्दा प्रतिष्पर्धीको गायन क्षमता राम्रो भएको पाइएको छ । जसका कारण नम्बर एकभन्दा अन्य प्रतिभा बजारमा अगाडि देखिएका छन्’, उहाँले स्पष्ट पार्नुभयो ।
पोखरेलका अनुसार विजेतालाई आयोजकले एक वर्षे सम्झौतामा बाधेकालेपनि उसलाई गाउन लगाउन निकै फलो गर्नुपर्ने, आयोजकसँग कुरा मिलाउनुपर्ने र पारिश्रमिक आयोजकलेनै तोकिदिने जस्ता झन्झट आइलाग्ने गरेका छन् । जसका कारण पनि उनीहरुभन्दा अन्य प्रतिस्पर्धी अगाडि देखिएका छन् ।
तर, कतिपय अवस्थामा विजेताको अहमताका कारण पनि उनीहरु अरुभन्दा पछि परेको हुनसक्नेतर्फपनि पोखरेलले संकेत गरे ।
गायिका कुन्ति मोक्तानको पनि लगभग पोखरेलकै कुरामा सहमति छ । ‘विजेता तत्काल चर्चामा आउँछन् । जसले गर्दा उनीहरु आर्थिक रुपमा अगाडि आउँछन्’, उहाँ भन्नुहुन्छ, ‘उनीहरु एकवर्ष आयोजकको सम्झौतामा बाधिइन्छन् ।
यस्तै कारणहरुले उनीहरु पछाडि परिरहेका छन् ।’ रियालिटी सोका विजेता भोटका कारणले छान्ने परिपाटीका कारण राम्रो प्रतिभा पछि परिहेको गायिका मोक्तानको ठहर छ ।
‘भोटका कारण छानिने भएकाले रियालिटी सोमा सही मानिस विजेता बन्दैन । जसले गर्दा पछि विजेताभन्दा अन्य प्रतिस्पर्धीको प्रतिभाको चर्चा हुने गरेको छ’, उहाँले भन्नुभयो ।
वरिष्ठ संगीतकार शम्भुजित बाँस्कोटाको भनाइ पनि गायिका मोक्तान र संगीतकार पोखरेलसँग मिल्दोजुल्दो छ । ‘रियालिटी सोमा भोटलाई निर्णायक मानिन्छ । यसले गर्दा कतिपय राम्रा प्रतिभा पनि पछि पर्ने गरेका छन्’ उहाँ भन्नुहुन्छ, ‘तर, पछि अवसर पाएर उनीहरु अगाडि आउन सफल भएका भने छन् ।’
इन्दिराको फरक मत
नेपाली तारा सिजन १ की प्रतिपस्पर्धी पाँचमा परेर अहिले नेपाल आइडलकी जज इन्दिरा जोशी भने बाँस्कोटार, मोक्तान र पोखरेलका कुरामा सहमत छैनन् ।
‘रियालिटी सोका विजेता अगाडि आउन सकेनन् भन्ने कुरामा म सहमत छैन’, उहाँले भन्नुभयो, ‘म त उनीहरुलाई सफल र चर्चित देख्छु ।’
रियालिटी सोका कारणभन्दापनि आफ्नो मेहनत र लगावका कारणले कोही अगाडि आउने वा पछि पर्ने कुरा निर्धारण हुने उहाँको बुझाइ छ ।
यस्तो छ ‘रियालिटी’
नेपाल आइडल सिजन –१ मा पोखराका बुद्ध लामाले उपाधि जिते तर अहिले बजारमा चर्चाको हिसावले निशान्त भट्टराई, प्रताप दास र सागर आले अगाडि रहेको संगीत क्षेत्रमा हुने गरेको छ ।
सिजन –२ मा सुदुरपश्चिमका रवि ओडले उपाधि जिते र अहिले अस्मिता अधिकारी र विक्रम बराल सफल र चर्चामा रहेको संगीतविज्ञहरुको भनाइ छ ।
खाली नेपालमा मात्र नभए प्रायः सबै देशमा रियालिटीसोेका विजेताभन्दा प्रतिस्पर्धीनै बढी चर्चामा रहेको गायिका कुन्ति मोक्तानको भनाइ छ । ‘इन्डियन आइडलको उपाधि जितेका नेपाली मुलका प्रशान्त तामाङका गीत सुन्नै पाइँदैन’, उहाँले भन्नुभयो, ‘बरु उनका प्रतिस्पर्धी नेहा कक्कड र अरिजित सिंह अहिले रुचाइएका र चर्चामा रहेका गायक–गायिकाको सूचिमा पर्छन् ।’
कोही सफल पनि भए
नेपाली तारा सिजन –१ का विजेता दीपक लिम्बू निकै चर्चामा रहेका गायक हुन् । एक समय पाश्र्व गायनमा छाएका उनी अहिले भने अलि कम चर्चामा छन् । सिजन –२ का विजेता सन्तोष लामा पनि अरुको तुुलनामा सफल गायकमै पर्छन् ।
कसैको सामान्य चर्चा, कोही गुमनाम
नेपाल आइडल सिजन –३ का विजेता प्रताप लामा खासै चर्चामा आउन सकेनन् । त्यस्तै, खोजी प्रतिभाको विजेता दुर्गा परियार सुरुवाती केही गीतमा सुनिए पनि अहिले हराइन् ।
भ्वाइस अफ नेपाल सिजन –१ का विजेता सिडी विजय अधिकारी सामान्यको चर्चा सामान्य रह्यो । भ्वाइस अफ नेपाल –२ राम लिम्बूले कार्यक्रम सकिएपछि कुनै गीत गाएर हिट भएको थाहा छैन । बरु, तेस्रो स्थानमा आएका सनिश श्रेष्ठका गीतहरु भने आइरहेका छन् र चर्चामा पनि छन् ।
नेपालमा लोकविधाको रियालिटी सो लोकस्टार पनि आयो । लोकस्टारमा रुचाइएका र आस गरिएकाभन्दा फरक प्रतिस्पर्धी शनि विश्वकर्मा विजेता बन्न सफल रहे । तर,उनको सट्टा रामकुमार नेपाली र चेतन गोतामेका गीत निरन्तर आइरहेका छन् र रुचाइएका पनि छन् । गोमा परियार नेपाली नेटवर्कबाट