रक्षामन्त्री, गृहमन्त्री, स्वास्थ्यमन्त्री र प्रधानसेनापति आइसोलेसनमा
काठमाडौँ ।
कोभिड १९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) को सचिवालयमा कार्यरत कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएपछि उपप्रधानमन्त्री ईश्वर पोखरेल, गृहमन्त्री रामबहादुर थापा, स्वास्थ्यमन्त्री भानुभक्त ढकाल र प्रधानसेनापछि पूर्णचन्द्र थापा, सचिव महेन्द्र गुरागाई होम आइसोलेसनमा बसेका छन् ।
छाउनीस्थित नेपाली सेनाको हाताभित्र रहेको सीसीएमसीका सचिवालयका ती कर्मचारीमा कोरोना संक्रमण भेटिएपछि केही दिनअघि उक्त स्थानमा बैठकमा सहभागी भएका उनीहरु होम आइसोलेसनमा बसेका हुन् ।
सीसीएमसीको सचिवालयमा गत आइतबार कोरोना भाइरस रोकथाम तथा नियन्त्रणको लागि साढे दुई घन्टा छलफल भएको थियो । बैठकमा सहभागी एक कर्मचारीमा संक्रमण देखिएको हो ।
संक्रमितको सम्पर्कमा पुगेपछि मन्त्रीहरुसहित प्रधानसेनापति, सचिव र अन्य कर्मचारीहरुको पनि पीसीआर परीक्षण गरिएको छ । परीक्षणको नतिजा नआएसम्म उनीहरु होम आइसोलेसनमा बस्ने जनाईएको छ ।
सत्तारुढ दल नेकपाका सचिवालय सदस्य समेत रहेका पोखरेल र थापा आइसोलेसनमा बसेसँगै नेकपाको शनिबार बस्ने भनिएको सचिवालय बैठक पनि स्थगित भएको छ ।
सीसीएमसी सचिवालयका अनुसार कार्यालय सहयोगीको रुपमा रहेका एक सैनिक कर्मचारीमा कोरोना संक्रमण भएको हो । ती सैनिक कपाल काट्न जाँदा संक्रमण भएको पनि बताइएको छ । सीसीएमसी सचिवालय भने सिल गरिएको छैन ।