चितवन–१ मा कुशल केसीको चर्चा
बोलन्या थली |
१९ पुष २०८२, शनिबार
चितवन । निर्वाचनको मिति नजिकिँदै गर्दा चितवन क्षेत्र नम्बर १ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को तर्फबाट कुशल केसीको नाम चर्चामा आउन थालेको छ । कुलमान घिसिङका सबैभन्दा विश्वासिला र नजिकका पात्र कुशल केसीको नाम उम्मेदवारका रूपमा अहिले चर्चाको शिखरमा छ । उज्यालो नेपाल पार्टी र राष्ट्रिय स्वतन्त्र पार्टी एकता भएर कुलमान उपसभापति भएपछि केसी बलियो उम्मेदवारको रूपमा खडा भएका छन् ।
यसअघिको निर्वाचनमा रास्वपाले जितेको चितवन क्षेत्र नम्बर १ यो पटक थप रोमाञ्चक बन्दै छ । उम्मेदवारका आकांक्षीहरू धेरै छन्, तर कुशल केसीको नाम अहिले सबैभन्दा अगाडि देखिएको छ । पार्टी स्रोतका अनुसार कुलमान घिसिङ पक्षले चितवनको यो क्षेत्रलाई आफ्नो दाबी गरेको छ र केसीले यसमा उम्मेदवारीको बलियो इच्छा व्यक्त गरेका छन् । पहिले उज्यालो नेपाल पार्टी खोल्न सक्रिय केसी हालैको पार्टी एकतापछि कुलमानसँगै रास्वपामा सामेल भएका छन् । केसी कुलमानका भरपर्दा र विश्वासिला पात्रका रूपमा रहेका छन् ।
युवावस्थामै अष्ट्रेलियामा सफल व्यवसायी बनेका केसीमा योजना, निर्णय क्षमता, उत्तरदायित्व र परिणाममुखी सोचले उनलाई व्यावहारिक नेता बनाएको छ । पार्टीका आन्तरिक स्रोतहरूबाट प्राप्त जानकारी अनुसार केसीको अन्तर्राष्ट्रिय अनुभवले रास्वपालाई वैदेशिक नेटवर्क विस्तार गर्न थप मद्दत गर्नेछ । अष्ट्रेलियाबाट फर्किएपछि पछिल्ला चार वर्षदेखि चितवनमा बसेर स्थानीय समुदायसँग जोडिएका केसीले समस्या र सम्भावनालाई नजिकबाट बुझेका छन् । हालैको पार्टी एकतापछि कुलमानको उपसभापति पदले केसीको अभियानलाई थप उचाइ दिने दाबी गरिएको छ ।
केसी गैरआवासीय नेपाली संघ (एनआरएनए) मा लामो संलग्नता भएका व्यक्ति हुन् । युनाइटेड नेपाली डायस्पोरा अर्गनाइजेसन (यूएनडीओ) का पूर्व महासचिवका रूपमा यी सबैले उनलाई प्रवासी नेपालीहरूको हकहितमा सक्रिय बनाएको छ । शेष घले जस्ता अन्तर्राष्ट्रिय व्यक्तित्वहरूसँगको सहकार्यले केसीको नेटवर्कलाई थप बलियो बनाएको छ । कुलमानको आगमनसँगै रास्वपा मजबुत भएको छ र केसीको उम्मेदवारी हुने इच्छालाई थप मजबुत बनाएको छ ।
कुशल केसी मात्र नेता होइनन्, बौद्ध दर्शनमा पीएचडी अध्ययनरत विद्वान् पनि हुन् । करुणा, नैतिकता, मध्यम मार्ग र सामाजिक न्यायको उनको सोचले राजनीतिमा नयाँ आयाम दिने विश्वास गरिएको छ । पार्टी स्रोतहरू भन्छन्, केसीको वैचारिक पृष्ठभूमिले रास्वपालाई संयमित र उत्तरदायी बनाउनेछ । विशेष गरी कुलमानको नेतृत्वमा प्राकृतिक सम्पदा, संस्कृति, बौद्ध पर्यटन र स्थानीय उद्यमलाई जोडेर रोजगारी सिर्जना गर्ने उनको योजना चितवनका लागि क्रान्तिकारी हुन सक्छ । यद्यपि केसी निर्वाचनमा नयाँ अनुहार हुन्, तर पछिल्ला पाँच वर्षदेखि चितवनमा सक्रिय रहँदै स्थानीयसँग संवादलाई निरन्तरता दिएका छन् ।
चितवन क्षेत्र नम्बर १ मा कुशल केसीको उदय मात्र होइन, कुलमानको शक्ति प्रदर्शन पनि हो । रास्वपा नयाँ उचाइमा छ, निर्वाचन नजिकिँदै गर्दा चितवन क्षेत्र नम्बर १ थप रोचक बन्ने निश्चित छ ।


