बझाङका युवा उद्यमी खड्का रास्वपामा जोडिए

बोलन्या थली | १७ पुष २०८२, बिहीबार
बझाङका युवा उद्यमी खड्का रास्वपामा जोडिए


धनगढी । राजनीति, व्यवशाय र समाजसेवाको क्षेत्रमा लामो समयदेखि सक्रिय बझाङका युवा उद्यमी नरेन्द्र बहादुर खड्का राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मा जोडिएका छन् ।

स्थानीय स्तरमा प्रभावशाली व्यक्तित्वका रूपमा चिनिएका खड्काको रास्वपामा प्रवेशलाई बझाङको राजनीतिक वृत्तमा अर्थपूर्ण रूपमा हेरिएको छ ।

उज्यालो नेपाल पार्टीका संरक्षक कुलमान घिसिङ, काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन), तथा स्वतन्त्र सांसद एवं सुदूरपश्चिम प्रदेश सभा सदस्य डा. तारा जोशीसँगै खड्का वैकल्पिक राजनीतिमा जोडिएका हुन् ।
नरेन्द्र खड्का बझाङमा पोल्ट्री व्यवसाय भित्र्याउने पहिलो उद्यमीका रूपमा चिनिन्छन् ।

स्थानीय रोजगारी सिर्जना र आत्मनिर्भर अर्थतन्त्रको पक्षमा उनी लामो समयदेखि क्रियाशील रहँदै आएका छन् । हाल उनी बझाङ उद्योग वाणिज्य संघका महासचिव तथा बझाङी सेवा समाज अत्तरिया, कैलालीका सचिवको जिम्मेवारीमा छन् ।

यसअघि उनले जाल्पा माध्यमिक विद्यालयको विद्यालय व्यवस्थापन समिति (विव्यस) अध्यक्षको रूपमा रहेर पनि उल्लेखनीय योगदान दिएका थिए ।खड्काको राजनीतिक यात्रा विद्यार्थी राजनीतिबाट सुरु भएको हो । २०६३ सालदेखि उनी विद्यार्थी राजनीतिमा सक्रिय रहेका थिए । तत्कालीन नेकपा (माओवादी केन्द्र) निकट अखिल (क्रान्तिकारी) को रेन्बो इन्टरनेशनल कलेज संयोजक हुँदै उनले २०६६ सालमा बझाङ जिल्ला समिति सचिवको जिम्मेवारी सम्हालेका थिए ।


त्यसपछि २०६९ सालमा जिल्ला संयोजक, केन्द्रीय सदस्य तथा केन्द्रीय सचिवालय सदस्य हुँदै सुदूरपश्चिम प्रदेश सह–संयोजकको भूमिका निर्वाह गरे । पछि नेकपा माओवादी केन्द्रको प्रदेश कमिटी सदस्यको जिम्मेवारीसम्म पुग्न सफल भएका थिए ।

२०७४ सालको स्थानीय तह निर्वाचनमा जयपृथ्वी नगरपालिका मेयर पदका उम्मेदवार बनेका खड्काले प्रत्यक्ष निर्वाचनमार्फत जनतासँग नजिक भएर राजनीति गर्ने अनुभव पनि सँगालेका छन् । २०८० सालदेखि उनी तत्कालीन नेकपा माओवादी केन्द्रबाट निष्क्रिय रहेका थिए ।

जनाअवजको टिप्पणीहरू