रास्वपाका पूर्व जिल्ला सचिव ऐरको खुलापत्र : लोकप्रिय अनुहार होइन, संगठन र भूगोललाई न्याय देऊ
बोलन्या थली |
१६ पुष २०८२, बुधबार
सम्माननीय सभापति रवि लामिछानेज्यू तथा समानुपातिक उम्मेदवार छनोट समितिज्यूहरूलाई
रवि लामिछाने, बालेन शाह र कुलमान घिसिङज्यूहरूको सहकार्यले देशमा परिवर्तन चाहने नागरिकहरूमा आशा जगाएको छ। घण्टी समर्थक, नयाँ राजनीतिक संस्कारको अपेक्षा राख्ने जनता र पुरानो राजनीतिको विकल्प खोजिरहेका हामी सबैका लागि यो मिलन सकारात्मक र स्वागतयोग्य छ। यो एकता हामीले चाहेको दिशातर्फको महत्वपूर्ण कदम हो भन्नेमा दुई मत छैन।
तर, यही आशाको बीचमा सार्वजनिक गरिएको समानुपातिक उम्मेदवारहरूको बन्द सूचीले भने गम्भीर निराशा र प्रश्नहरू जन्माएको छ। यो केवल केही व्यक्तिको असन्तुष्टि होइन, जमिनमा काम गर्ने कार्यकर्ता, संगठन बोकेर हिँड्ने समर्थक र देशभर फैलिएको आधारको सामूहिक पीडा हो।
हामी बुझ्छौँ,
बालेन पक्ष, कुलमान पक्ष र पार्टीभित्रका आकांक्षीहरूबीच सन्तुलन मिलाउनु सजिलो छैन। केही अपेक्षाहरू पूरा नहुनु स्वाभाविक पनि हो। साथै, बालेन र कुलमानज्यूहरूसँग देशभर संगठनात्मक रूपमा जोडिएका अनुहारहरू सीमित हुनु पनि यथार्थ हो।
तर यहाँ गम्भीर प्रश्न उठ्छ,
हामीसँग त देशभर संगठन थियो। देशभर कार्यकर्ता थिए। देशभरबाट उम्मेदवार थिए। त्यो सम्भावनाको उपयोग किन भएन?
समानुपातिक प्रतिनिधित्वको मर्म के हो?
यदि उम्मेदवारहरू अधिकांश रूपमा शहर केन्द्रित, एउटै भूगोल र सीमित क्षेत्रमै केन्द्रित छन् भने त्यसलाई समानुपातिक कसरी भन्न सकिन्छ?
नेपाल सानो छैन, एकरूप छैन। पहाड, हिमाल, तराई, सुदूरपश्चिम र कर्णाली सबै नेपाल हुन,कि यो तथ्य फेरि पनि बिर्सियो?
हामी बहुमतको कुरा गरिरहेका छौँ भने, त्यो बहुमत केवल ३–४ वटा चर्चित अनुहारबाट आउँछ भन्ने भ्रम कसरी पाल्न सकिन्छ?
बहुमत आउँछ संगठनबाट, कार्यकर्ताबाट, भूगोलबाट र जनताको अपनत्वबाट। सकेसम्म हरेक क्षेत्रलाई समेटेर, समानुपातिक उम्मेदवारहरूलाई भूगोल र संगठनको प्रतिनिधि बनाइएको भए, त्यसको प्रभाव प्रत्यक्ष उम्मेदवारहरूलाई समेत फाइदा पुग्ने थियो।
तर अहिले देखिएको सूचीले त्यो रणनीति होइन, केन्द्रित भागबण्डा मात्र झल्काउँछ। सुदूरपश्चिम र कर्णाली पनि नेपालमै पर्छन्। यी क्षेत्रहरू सधैँ जस्तो फेरि पनि प्राथमिकताबाट बाहिर परेका त होइनन्? भागबण्डामा आधारित एकता कति समय टिक्छ?
हामीले खोजेको एकता विवेकशील साझा पार्टीसँग भएको जस्तो मूल्य, सिद्धान्त र दृष्टिकोणमा आधारित काे हाे, न कि अरू दल र व्यक्ति हरू जस्ताे निरन्तर बार्गेनिङ गर्दै अन्ततः पार्टी नै कमजोर बनाउने खालको!
अर्को गम्भीर प्रश्न,
भोलि यी सबै अनुहार संसदमा नहुन पनि सक्छन्। त्यसपछि पनि के यिनै अनुहारकै आधारमा भागबण्डा चलिरहन्छ त? रास्वपामा प्रतिस्पर्धा गरेर आएका उम्मेदवार र बालेन,कुलमान हरुले टिपेर ल्याएका लोकप्रिय अनुहारहरूबीच के नै भिन्नता रह्यो त? यदि अन्ततः निर्णय केही सीमित व्यक्तिमै अड्किने हो भने, यति ठूलो उम्मेदवार छनोट प्रक्रिया र परीक्षा लिनुको अर्थ के रह्यो?
त्यसैले, यो केवल गुनासो होइन
विनम्र तर कडा चेतावनी पनि हो।
यदि सम्भव छ भने यो निर्णय पुनः समीक्षा गरियोस्।
बालेन र कुलमान पक्षलाई समावेश गरियोस्, तर भूगोल, क्षेत्रीय समावेशिता र संगठनात्मक योगदानलाई आधार मानेर। नत्र, यो अवस्था केवल हामी समर्थकहरूका लागि होइन, राष्ट्रिय स्वतन्त्र पार्टीकै लागि खतराकाे घण्टी सावित हुन सक्छ।
नेतृत्वले समयमै गम्भीर आत्मसमीक्षा गर्नेछ भन्ने अपेक्षासहित।
राजेन्द्र ऐर, पूर्व सचिव, डडेल्धुरा जिल्ला समिति, राष्ट्रिय स्वतन्त्र पार्टी
समर्थक, हाल यूएइ


