अफगानिस्तानमा तालिवान सत्ताको उदयले नेपालसहित दक्षिण एशियामा सम्भावित असर

बोलन्या थली | ३२ श्रावण २०७८, सोमबार
  • 2
    Shares
अफगानिस्तानमा तालिवान सत्ताको उदयले नेपालसहित दक्षिण एशियामा सम्भावित असर

अफगानिस्तानमा फेरि तालिवान सत्ता स्थापित भएको छ । यसअघि सन् १९९६ देखि २००१ सम्ममा तालिवानले देशको तीन चौथाइ भाग कब्जा गरेको थियो ।

त्यस समयमा सारिया वा मुस्लिम कानुनका कारण त्यहाँका बासिन्दाले भोगेको सास्ती वर्णन गर्न नै कठिन मानिएको छ । यो कानूनले महिलालाई शिक्षा आर्जन गर्न र पुरुषलाई दाह्री खौरिन प्रतिबन्ध लगाउँछ । यसले दिने यातना र कठोर जीवन.का अन्य थुप्रै पाटा छँदैछन् ।

काबुलमा तालिवान सत्ता स्थापित भएको चौबीस घण्टा पूरा भएको छ । त्यहाँ तालिवानले आफ्ना सम्पूर्ण नियम लागु गरिसकेको छैन । सत्ता व्यवस्थित बनाउन उनीहरू केन्द्रित छन् । यसअघि नै कब्जा गरेका धेरै प्रान्तमा कठिन शासन शुरू भएको छ ।

तालिवानले सीमा क्षेत्र र ग्रामीण भेगमा पुरुषलाई दाह्री खौरिन प्रतिबन्ध, लगाएको छ । महिला र पुरुषबीच बोलचालामा बन्देज छ । महिलाका लागि सार्वजनिक रोजगारी बन्देज छ । महिलाका लागि शिक्षामाथि प्रतिबन्ध शुरू भएको छ ।

परम्परागत इस्लामिक विद्यालयबाटै प्रशिक्षित तथा सोभियत युद्धको समयमा स्थापित तालिवानले २५ वर्षअघि मोहम्मद ओमारबाट शासन सत्ता हत्याएको थियो ।

त्यसै अवधिमा अफगान नागरिकमाथि ज्यादति भइरहेको समयमा अमेरिकाले १ लाख ६० हजार मानिसका लागि पठाएको खाद्यान्न तालिवानले नष्ट गरेको थियो । घरहरू भत्काइएका थिए । यो समयमा अफगानिस्तान मरुभूमिकै रूपमा परिणत भएको थियो ।

धार्मिक अतिवादले यसरी जरो गाडेको थियो कि गैरमुस्लिमका लागि अफगानिस्तानमा सुखी हनु त धेरै टाढाको कुरा, मुस्लिममध्ये पनि उनीहरूको समूहसँग संलग्न नहुनेका लागि जीवन अत्यन्त कठिन थियो । चरम भेदभावको अवस्था थियो ।

सञ्चार, चलचित्र, पेन्टिङ र फोटोग्राफीमाथि प्रतिबन्ध लगाइएको थियो । पुरुष चिकित्सकले महिला बिरामीको स्वास्थ्य परीक्षण गर्न बन्देज लगाइएको थियो । कुनै महिला सार्वजनिक स्थानमा जानै परे सम्भव भएसम्म श्रीमानका साथमा र नभए परिवारकै पुरुष सदस्यका साथमा बुर्का लगाएरमात्र जान पाउने नियम थियो । सोही समयमा तालिवानले धेरै सांस्कृतिक धरोहरहरू पनि नष्ट गरेका थिए । बुद्धको १५ सय वर्ष पुरानो प्रतिमा नष्ट गरेका थिए ।

त्यस समयमा अल कायदाका नेता ओसामा बिन लादेन मातहतका २५ सय लडाकु पनि तालिवानका निम्ति लडेको थिए । सन् २००१ को सेप्टेम्बरपछि तालिवानले पाकिस्तानको सहयोग पाउन छाड्यो । यसअघि अफगानिस्तानमा सोभियत सङ्घले आक्रमण गर्दा बालुचिस्तान पनि नियन्त्रणमा लिन सक्ने डर पाकिस्तानलाई थियो । यस कारण पाकिस्तानले विद्रोही समूहलाई साथ दिएको थियो जो लामो समय कायम रह्यो ।
सन् १९९५ मा पास्थुन समुदायको नियन्त्रणमा इस्लामिक सारिया कानुन नै लक्ष्य रहेको तालिवानले सार्वजनिक गरेको थियो । इस्लामिक न्यायिक शिक्षालय हानो फाइ स्कुलका यी उत्पादन तालिवान आफूहरूलाई मुल्लाह ओमारका अनुयायी बताउँछन् ।

सन् १९९६ मा तालिवानको उदयपछि अफगानिस्तानको अवस्था यतिसम्म खराब थियो कि विद्युत्, टेलिफोन, खानेपानीजस्ता सुविधाको अभाव थियो । खाद्यान्न अभावका कारण कुपोषणको गम्भीर समस्या थियो । कुपोषणकै कारण एक चौथाइ बालकको पाँच वर्षको हुनअघि नै ज्यान जान्थ्यो । उनीहरूलाई सहयोग गर्न गैरसरकारी संस्थालाई अफगानिस्तान प्रवेश वर्जित थियो । मजार, हेरात र सोमाली उपत्यकाको एक तिहाई जनसंख्या विस्थापित भएको थियो ।

बीस वर्षपछि फेरि तालिवान सत्ता स्थापित भएको छ । यसको मुख्य असर अफगानिस्तानमा रहेका हिन्दु र सिखहरूमाथि हुने अनुमान छ । बीस वर्षअघि पनि यसै खालको ज्यादतिका कारण धेरै हिन्दु र सिखहरू अफगानिस्तान छाड्न बाध्य भएका थिए । हिन्दु र सिखहरू अछुत मानिने हुँदा छुट्टै पहिरनका हुन्थे जसका कारण मुस्लिमहरू नछोई हिँड्न सक्थे ।

अहिले तालिवानले काबुलमा सत्ता कब्जा गरेपछि युद्ध सकिएको र हिंसा नभड्काउने घोषणा गरेको छ । विपक्षी कूटनीतिक नियोगका कर्मचारीलाई निर्बाध रूपमा आफ्नो देशमा लैजान सक्ने घोषणा पनि गरेको छ । सरकारमा गैरतालिवानलाई पनि समावेश गर्ने घोषणा गरेको छ ।

काबुल कब्जापछि तालिवानको यस्तो घोषणाले विगतको भन्दा उदार तालिवानको झल्को दिएको छ । आफगानी सर्वसाधारणहरू भने यसमा विश्वस्त हुनसकेका छैनन् । उनीहरू त्रासमा छन् घरभित्रै बस्ने गरेका छन् ।

ग्रामीण भेगमा अवस्था त्रासपूर्ण रहेको छ । महिलाहरूलाई जर्बजस्ती तालिवान लडाकुका श्रीमती बन्न दबाब दिन थालिएको छ । थुप्रै महिलाहरू भागेर काबुल पुगेका छन् । युवाहरूलाई जर्बजस्ती कब्जा गरेर उनीहरूको हतियार बोक्न लगाउने गरिएको छ । उनीहरूले भन्ने गरिएको इस्लामिक कानून गरिएको छ । नमान्नेले यातना पाउने गरेका छन् ।

यी सबै घटना र परिदृष्यले अबको अफगानिस्तान मुस्लिम कानुनका कठोर बन्देजहरू पालना गर्नुपर्नेछ । महिला, हिन्दु र सिखहरूका लागि जीवन साँच्चै कठिन बन्नेछ ।

तालिवानको शासन कालमा दक्षिण एसिया नै आतंकित भएको विगत छ ।

१९९९ को २४ डिसेम्बरका दिन काठमाडौँको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट इन्दिरा गान्धी अन्तर्राष्ट्रिय एयरपोर्ट, दिल्लीतर्फ उडिरहेको इन्डियन एयरलाइन्सको उडान नम्बर ८१४ को जहाज अपहरण भएको थियो । सो विमान थुप्रै स्थान घुमाएर कन्दाहारमा अवतरण गराइएको थियो ।

सैँतीस वर्षीय कप्तान देवी शरणले चलाएको सो विमान पाँच जना नकाबधारीले अपहरण गरेका थिए । विमानमा रहेका १७६ जना मध्ये २७ जनालाई अपहरणकारीले दुबईमा लगेर छाडेका थिए । एक जना गम्भीर घाइते भए भने अन्य धेरैलाई चोटपटक लागेको थियो ।

यो अपहरणपछि तालिवानहरू भारतीय जेलमा रहेका आतंककारी मुस्ताक अहमद जँगार, अहमद ओमार सैयद सेख र मसुद अजरलाई छुटाउन सफल भएका थिए । यिनीहरू सन् २००२ मा डानियल परको अपहरण र हत्या तथा मुम्बईको आतंककारी हमलामा संलग्न थिए ।

त्यसो त अफगानिस्तानमा रहेका हिन्दु र सिखहरूप्रति कठोर तालिवान शासनमा अफगानिस्तानमा रहेका नेपालीको जीवन थप समस्याग्रस्त हुन सक्छ । सन् २०१६ मा राजधानी काबुलमा मिनीबसमा यात्रा गरिरहेका नेपाली सुरक्षाकर्मीको आत्मघाती आक्रमणमा ज्यान गएको थियो ।

अफगानिस्तानका शरणार्थी भारत र त्यहीँबाट नेपाल आगमनको सम्भावना रहेको तथा यी स्थानमा तालिवानको निशाना बन्न सक्ने डर पनि त्यत्तिकै रहेको छ ।

तालिवान सत्ताको उदयसँगै बहुधार्मिक भए पनि धार्मिक सद्भाव रहेको नेपाल लगायत दक्षिण एसियाली देशहरूको वातावरणमा असर पर्ने आधारहरू देखिएका छन् ।

–एजेन्सीहरूको सहयोगमा

  • 2
    Shares

जनाअवजको टिप्पणीहरू