युट्युबको ट्रेन्डिङमा ‘आलु जस्तो गायक’
काठमाडौं- युवा पुस्तामाझ रुचाइएका गायक दुर्गेश थापाको गीत ‘आलु जस्तो गायक’ सार्वजनिक भएको दुई दिनमै युट्युबको ट्रेण्डीङमा रहेको छ ।
गीतको भ्यूज अहिलेसम्ममा सात लाख भन्दा बढी नाघेको छ । गीतमा वसन्त थापाले शब्द-सङ्गीत दिनुभएको छ । भिडियो निर्देशन शिव विकले गर्नुभएको छ । गीतमा गायक थापासँगै नायक पल शाह, पुष्प खड्का र सारिका केसीको अभिनय-नृत्य छ ।
‘इनाक्षी इन्टरटेन्टमेन्ट’ युट्युब च्यानलबाट सार्वजनिक गीतमा थापाको साङ्गीतिक जीवनको भोगाइ र उतारचढाव समावेश छ । केही साताअघि एक टेलिभिजन अन्तर्वार्तामा नारायणगोपालको गीत गाउन लगाउँदा भक्तराज आचार्यको गीत गाएपछि गायक थापा ट्रोलको शिकार बन्नुपरेको थियो । थापाको साङ्गीतिक ज्ञानको स्तरलाई लिएर धेरैले व्यङ्ग्य गरेका थिए ।
सङ्गीत प्रशिक्षण, साधानाले भन्दापनि आफू रहरले गायक भएको थापाले बताउनुभयो । “मेरो मुख्य क्षेत्र मोडलिङ हो, म रहरले गायनतिर लागेँ”, थापाले भन्नुभयो, “कुनै औपचारिक ज्ञान भन्दा पनि मैले हाम्रै हावापानी, पाखा, पखेराबाट सङ्गीतमा लाग्ने प्रेरणा पाएँ ।” दर्शक, स्रोताकै माया र सद्भावले आफू गायकका रुपमा चिनिएको थापाको भनाइ छ ।
थापाको यही वर्ष सार्वजनिक ‘बीच्चबीचमा–२’ तीज गीत पनि चर्चित छ । गीतमा कोरोना महामारीले जनजीवनमा पारेको प्रभावबारे उल्लेख छ । उक्त गीतले पनि युट्युबमा एक करोड बढी भ्यूज बटुलेको छ । बागलुङको गलकोटमा जन्मनुभएका गायक थापाका दर्जनौँ गीत सार्वजनिक भएका छन् । सयौँ म्युजिक भिडियोमा अभिनय गर्नुभएको छ ।-