जङ्गली जनावरले अन्नबाली र तरकारी नष्ट गर्दा किसान चिन्तित
सुदूरपश्चिम प्रदेशका विभिन्न जिल्लामा जङ्गली जनावरले आतङ्क मच्चाउन थालेका छन । विगतका वर्षमा जस्तै बैतडी, दार्चुला, डडेल्धुरा, बझाङलगायत पहाडी जिल्लामा जङ्गली जनावरले आतङ्क मच्चाएका हुन् ।
दिनमा बाँदर, रातिको समयमा जङ्गली बँदेल, दुम्सीलगायत जङ्गली जनावरले अन्नबाली र तरकारी नष्ट गर्दा किसान आतङ्कित भएका छन् ।जङ्गली जनावर धपाउन रातदिन जाग्राम बस्नुपरेको दोगडाकेदार ७ चडेपानीका केशव भट्टले बताए । जङ्गली बँदेलले मकैबाली नष्ट गरेपछि भोकमरी हुने चिन्ता बढेको छ ।
जङ्गली जनावरले किसानको अन्नबाली तथा तरकारी नष्ट गर्न थालेपछि बैतडीका किसान चिन्तित बनेका छन् । यस्तै दार्चुलाको शैल्यशिखरमा पनि जङ्गली जनावरले आतङ्क मच्चाउन थालेको गङ्गासागर जोशीले बताए ।
डडेल्धुराको भागेश्वर गाउँपालिका–३ सतिगाउँमा पनि जङ्गली बँदेलले मकैबाली सखाप पारेको किसानले बताएका छन् । मकैबाली जोगाउनका लागि रातभर बारीमै पहरा दिने गरिएको भागेश्वरबाट अशोक भट्टले जानकारी दिए ।
जङ्गली जनावर नियन्त्रणका लागि स्थानीय सरकारले पहल गर्नुपर्ने किसानको माग रहेको छ । फौजी कीरा र फेदकटुवा कीराले अन्नबाली नष्ट गरेकोमा बँदेललगायतका जङ्गली जनावरले अन्नबाली खाइदिँदा किसान भोकमरी हुने भन्दै चिन्तामा परेका छन् ।