कविता : म अचेल ठूलो सपना देख्दिन


धनगढी : चिकित्सा शिक्षा सुधारको सहित विभिन्न ६ बुँदे माग राख्दै २६ दिनदेखि अनसनमा बसेका डा. गोविन्द केसीको समर्थनमा कविता बाचन कार्यक्रम भएको छ । शनिबार बोलन्या थलीको आयोजनामा “डा. केसिका लागी कविताहरु” भन्ने दबाबमूलक कार्यक्रम बोलन्या थलीको सेटमा सर्जक लक्ष्मण भट्टले बाचन गरेको कविता “म अचेल ठूलो सपना देख्दिन”
मैले ‘क, ख, ग, घ….A,B,C,D….’
छुट्याउन सक्ने उमेरमा पुग्नु अगावै
बा मलाई प्रश्न गर्नु हुन्थ्यो
बाबु, तिमी ठूलो भएपछि के बन्छौ?
मलाई सताउँने बेलामा
मेरो शिर सुम्सुम्याउँदै
आमा, ‘बा’तिर हेर्दै
हमेसा एउटै बात गर्नु हुन्थ्यो
सुन्नुन,
हाम्रो बाबुलाई यो देशको ठूलो डाक्टर बनाउनु पर्छ है।
स्कूल जाने भइसकेपछि
कक्षाकोठामा एक-एक गरी सोधिन्थ्यो
तिमी ठूलो भएपछि के बन्छौ?
दूधे दाँत पनि पूरै ननिस्केको
मेरो मुखबाट तोतेबोलीमा उत्तर निस्कन्थ्यो
“सर, म त थुलो भएपछि दाक्तर बन्छु।”
मेरो उत्तर सुनिसकेपछि
पिठ्यु थप्थप्याउँदै सरले “स्यावास!”
भनेपछि मात्र चाल पाएको थिँए
डाक्टर भनेका ठूला मान्छे हुन् भनेर।
नेपाली विषयको परीक्षामा “मेरो जीवनको लक्ष्य ” शिर्षकमा
निबन्ध लेख्न आउँदा
प्रफुल्ल हुँदै
आफैभित्र रमाउँदै
सेता कागजका पानाहरू
लगातार भरिन्थ्यो।
जिन्दगीमा जस्तो सुकै परिस्थिति आएपनी
पछि नहट्ने संकल्पले बाधीएको यो निडर मुटु
त्यो दिन झस्केको थियो
जुन दिन
डाक्टरी पढ्न चाहिने लगानी बारे सुनेको थिँए
बा, कहिल्यै नहड्बडाएको यो मष्तिष्क त्यो बेला हडबडाएको थियो
जब मैले +२ मा मैले
Biology कि Math
Biology कि computer
छान्नु परेको थियो ।
मेरा लागि कापी किताब किन्नकै लागि
पल्ला घरे काकाबाट लिएको ऋण तिर्नै बाकी थियो
आमाको लागि खोकीको औषधि किन्न नसक्दा
उता आमा छाती च्यापी च्यापी खोक्दा
यता मेरो छाती भकानिन्थियो
हजारको हिसाबमा अल्मलिने मेरा बालाई
डाक्टर बन्नका लागी लाग्ने लाखौंको हिसाब कसरी बुझाउँनु
बल्ल होसमा आएको थिँए बा,
९0/९५% ले भरिएका मेरा सर्टिफिकेट भन्दा भारी
हजुरको खल्ती हुनु पर्ने रहेछ।
बा मेरो लक्ष्य र हजुरको खल्तीको हिसाब किताब गर्ने क्रममा
अलिकती त्रुटि भएछ
त्यसैले लक्ष्य प्राप्तिको बिषयमा फेल भएको छु
तसर्थ मैले गोजिको हिसाब किताब क्लियर नगरी
सपना देख्न छोडी सके
मैले अचेल ठूलो सपना देख्न छोडि सकेँ।
मलाई माफ गरिदिनु होला बा
हजुरको सपना पूरा गर्ने सकेन।