कोरोना (कविता )

बोलन्या थली | २१ भाद्र २०७७, आईतवार
कोरोना (कविता )

कहाँबाट सुरु गरौँ
भत्किनै लागेको
नेपालको कथा ?
सोच्दा सोच्दै
मनमस्तिस्कले
कोरोना कालबाट
सुरु गर
भनिहाल्यो ।

कलिका राक्षसी मानवले
आविष्कार गरेको कोरोना
सारा जगतमा
महामारीको रूप लिएर आयो
तर
भत्किन लागेको नेपालमा भने
ईँट्टा चोर्न सजिलो
बनाउने माध्यम बनेर आयो,

चीन, अमेरिका, भारत
र अन्य शक्तिशाली मुलुकमा
कस्ता कस्ता वैज्ञानिकहरुले
पत्ता लगाउन नसकेको
कोरोनाको तोड
हाम्रा बुद्धिजीवी नेपाली जनताले
(कोइला काण्ड)

हाम्रा सम्माननीय प्रधानमन्त्री ज्यूले
(बेसार काण्ड)
पत्ता लगाएको
तर
भयंकर रुप धारण गरेको
कोरोनालाई
त्यसले
शान्त गर्न
नसकेको कुरा सबैलाई थाहै छ होला,

कोरोनाका लागि विनियोजन
गरिएको
अर्बौं रकम
मामुली नै रहेछ
भन्ने अस्पष्ट तथ्यलाई
सरकारले बडो स्पष्टसँग
प्रमाणित गरेको देखेर
जनता अक्क न बक्क
परेको कुरा सबैलाई थाहै छ होला,
हुन त
राहत वितरण गरेर पनि
हरियो घाँस न खाएर
आँखा कमजोर भएका नेपालीले
त्यसमा
किरा देख्नुमा सरकार को के दोष ?
भन्नेको कमि छैन
भन्ने कुरा पनि सबैलाई थाहै छ होला,

संकटकालमा
ल्याइएको सरकारको
सुन्दा अति राम्रो लाग्ने
‘कोहि भोकै पर्दैन, कोहि भोकले मर्दैन’
नारा पनि
विगतका नीतिहरुझैँ
‘हात्ती आयो हात्ती आयो फुस्सा’
साबित भएको कुरा सबैलाई थाहा नै छ होला,

रोग मेटाउन नसके पनि
भोक मेटाउन सक्छ
भन्ने आशामा
नेपाल आएका
नेपाली अब
यता भोक र शोकले
मर्नुभन्दा
‘उता’ कोरोनाले मर्नु बेस
भन्दै
निराशाको पोको बोकेर
भारतउन्मुख हुँदै गरेको कुरा
सबैलाई थाहा नै छ होला,

मर्ने डर सबैलाई लाग्छ होला,
आज
बाँचियो भने
भोली
आफ्ना सन्ततिलाई
कोरोनाले निम्त्याएको कहरको
कथा सुनाउने रहर पनि
सबैलाई छ होला,

तर
सबैले थाहा पाएर
मात्र के गर्नु
एक आवाज उठाउने व्यक्तिको
जिब्रो काटिएपछि
या
रुपियाँमा उसको इमान बेचिएपछि
अर्कोले जे भइरहेको छ
त्यसलाई चुपचाप
मूकदर्शक बनेर
रमिता हेर्नु
नै उपयुक्त हुन्छ सायद !

दीक्षा भट्ट

जनाअवजको टिप्पणीहरू