तुइनबाट खसेर ६४ वर्षमा दार्चुलाका ६३ नागरिक महाकालीमा बिलाए
दार्चुला । पछिल्ला ६४ वर्षमा तुइनबाट खसेर दार्चुलामा मात्रै ६३ जना महाकाली नदीमा बिलाएका छन् । उनीहरूमध्ये दुईको मात्रै शव भेटिएको छ । ६१ जनालाई प्रहरी र स्थानीय तहको वडा कार्यालयले बेपत्ताको सूचीमा राखेका छन् । ०७२ मै तत्कालीन प्रधानमन्त्री केपी ओलीले तुइन विस्थापन गर्ने घोषणा गरेका थिए । तर, दार्चुलामा मात्रै अझै आधा दर्जन तुइन छन्, पछिल्लोपटक बिहीबार मात्रै १२ वर्षीय बालकले ज्यान गुमाएका छन् ।
०१६ यता तुइनबाट महाकालीमा खसेकामध्ये ब्याँस गाउँपालिका– ५ का दिलीपसिंह धामी र वीरसिंह धामीको शव मात्रै भेटिएको हो । उनीहरू ०५८ मा सोही वडाको ठन्डापानीस्थित तुइनबाट खसेका थिए । यीसहित ब्याँस– ५ का मात्रै १९ जना जिल्लाका विभिन्न तुइनबाट खसेर बेपत्ता छन् ।
जिल्ला प्रहरी र वडा कार्यालयको तथ्यांकअनुसार ब्याँस– २ का मात्रै २४ जना तुइनबाट खसेर बेपत्ता छन् । सबैभन्दा धेरै यही वडाका नागरिक बेपत्ता भएका छन् । त्यस्तै, ब्याँस– ६ का आठ, ब्याँस– ३ का पाँच र ब्याँस– ४ का तीनजना बेपत्ता छन् । दार्चुलाकै नौगाड गाउँपालिकाका एक, दोलखाको भीमेश्वर नगरपालिका– ६ का एक, कैलाली लम्कीका एक र ठेगाना नखुलेका अर्का एक जना पनि तुइनबाट महाकालीमा बेपत्ता भएका छन् ।
सबैभन्दा धेरै १२ जना ब्याँस– २ को तल्लो दुम्लिङघाटस्थित तुइनबाट खसेका छन् । ब्याँस– ५ को ठन्डापानीस्थित तुइनबाट ११, ब्याँस– २ को मालघाट तुइनबाट नौ, ब्याँस– ५ को तिगरमघाटबाट ६ र ब्याँस– ६ को एलागाड तुइनबाट पाँचजना महाकालीमा बिलाएका छन् । त्यस्तै, ब्याँस– ४ को मगडाउँबाट चार तथा ब्याँस– ६ को कालागाड, ब्याँस– ५ को नाजीघाट र फताङघाटबाट तीन–तीनजना बेपत्ता भएका छन् । त्यस्तै, बिन्दलामा दुई तथा कल्जु, महाकाली, बर्तीघाट, बल्जुडी र घाटीबगडस्थित तुइनबाट एक–एकजना हराएका छन् ।
दोलखा भीमेश्वर– ६ स्थायी घर भएका इन्जिनियर ४२ वर्षीय राजेन्द्र न्यौपाने १३ जेठ ०७६ मा ब्याँस– ४ को बर्तीघाटस्थित तुइनबाट खसेका थिए । विश्व खाद्य कार्यक्रम लागू भएको तत्कालीन सुनसेरा गाविस जाने क्रममा उनले तुइन प्रयोग गरेका थिए ।
यसअघि २२ असारमा ब्याँस– २ का १८ वर्षीय सचिन बुढाथोकी दुम्लिङको बल्लुलुडी क्षेत्रमा तुइन चुँडिएर महाकालीमा बेपत्ता भएका थिए । भारतबाट नेपाल आउने क्रममा बेपत्ता उनी अहिलेसम्म अज्ञात छन् ।