को हुन् तारा जोशी ?

बोलन्या थली | २९ कार्तिक २०७९, मंगलवार
को हुन् तारा जोशी ?


डडेल्धुरा । २७ चैत २०२७ मा गन्यापधुरा गाउँपालिकाको बामनगाउँमा जन्मिएका डा. तारा जोशीले भुवनेश्वरी माध्यमिक विद्यालयबाट २०४३ सालमा एसएलसी गरेका थिए । उनले कैलाली बहुमुखी क्याम्पसबाट आईकम गरेका छन् । सिद्धनाथ बहुमुखी क्याम्पस महेन्द्रनगरबाट बीए पास गरेका उनले एमए भने भारतको कुमाउ विश्वविद्यालय नैनीतालबाट गरेका हुन् ।

भारतको प्रतिष्ठित जवाहरलाल नेहरू विश्वविद्यालयबाट अन्तर्राष्ट्रिय सम्बन्धमा उनले पीएचडी गरेका छन् । जोशीको राजनीतिक यात्रा २०४५ सालमा कैलाली बहुमुखी क्याम्पसको अनेरास्ववियु प्रवेशसँगै भएको थियो ।

जोशीले २०४७ सालमा आफ्नै गाउँको गणेश मावि बडालमा शिक्षकको रूपमा काम गरे । २०५१ देखि २०५३ सम्म डडेल्धुरा काठमाडौं सम्पर्क मञ्चको सदस्यहुँदै काठमाडौं केन्द्रित राजनीति गरे । २०५३ सालमा डडेल्धुरा आउँदै गर्दा नेकपा एमालेले उनलाई जिल्ला कमिटी सदस्यमा जिम्मेवारी दियो ।

२०६३ को आन्दोलनका क्रममा उनी दुईपटक गरी ५१ दिन थुनामा समेत रहे । उनी २०६९ मा नेकपा एमाले डडेल्धुराको जिल्ला अध्यक्षमा सर्वसम्मत चुनिए । २०७० सालको संविधानसभा चुनावमा होमिएका उनी पराजित भए । २०७१ मा पुनः एमाले जिल्ला अध्यक्षमा निर्वाचित भए ।

‘भिजन डडेल्धुरा’ का अभियन्ता जोशी फार वेस्टर्न एग्रो जाइन्ट लिमिटेड नामको कम्पनीका संस्थापक अध्यक्षसमेत हुन् । फार वेस्टर्न एग्रो जाइन्टले डडेल्धुरामा भटमास प्रशोधन उद्योग सञ्चालन गरिरहेको छ । नेकपा एमाले विभाजन हुँदा उनी माधवकुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादीतर्फ लागे । उनै जोशी यसपटक लोकतान्त्रिक वाम गठबन्धनका साझा उम्मेदवार गोविन्द बोहरासँग चुनाव लडिरहेका छन् ।

एकीकृत समाजवादीका केन्द्रीय सदस्य समेत रहेका जोशी आसन्न निर्वाचनमा डडेल्धुरा प्रदेश २ बाट सत्ता गठबन्धनको उम्मेदवारको दौडमा थिए । तर, प्रतिनिधिसभामा एक र प्रदेशसभामा दुई निर्वाचन क्षेत्र रहेको डडेल्धुरामा सत्ता गठबन्धन दल नेकपा एकीकृत समाजवादीको भागमा एउटा पनि निर्वाचन क्षेत्र परेन । गठबन्धनको सहमतिअनुसार प्रतिनिधिसभा र डडेल्धुरा प्रदेश २ कांग्रेसको भागमा पर्‍यो भने डडेल्धुरा प्रदेश १ नेकपा माओवादी केन्द्रको भागमा ।

टिकट नपाएपछि जोशीले नेकपा एसबाट राजीनामा दिएर स्वतन्त्र उम्मेदवारी दिए । पार्टीबाट राजीनामा दिए पनि जोशीलाई नेकपा एसले समर्थन गरेको छ । नेकपा एसले प्रतिनिधिसभामा नेपाली कांग्रेस बीपीलाई सघाउने र उसले प्रदेशसभा २ मा जोशीलाई सघाउने सर्तमा तालमेल गरेको छ ।

अब उनको कडा प्रतिस्पर्धा नेपाली कांग्रेसका नेता गोविन्दराज बोहरासँग हुने अनुमान जिल्लावासीले गरेका छन् । उसो त एमालेबाट गजेन्द्र शाही पनि सोही क्षेत्रमा प्रतिस्पर्धामा छन् । तर, प्रदेश निर्वाचन क्षेत्र ‘क’ मा घर भएका शाहीको उम्मेदवारीलाई चासो दिइएको छैन ।

कांग्रेसनिकटकै नेताहरू भने बोहरा र जोशीबीच नै चुनावी मैदानमा कडा टक्कर हुने अनुमान लगाउँछन् ।

यस्तो छ बलियो पक्ष

यसपटक जनताले आफूलाई चुनाव जिताउने जोशीको दाबी छ । ‘मैले उठाएका विकासका एजेन्डाहरू, मैले समाजमा पुर्‍याएको योगदान, राजनीतिक दलहरूले गरेको अन्याय र दलप्रति जनताको वितृष्णाका कारण मैले जित निकाल्न सक्छु,’ उनी भन्छन्, ‘मैले कांग्रेस बीपी, नेकपा एसको खुला समर्थन र एमालेका साथीहरूको साथ नै मेरो जित्ने आधार हो ।’ उनले डडेल्धुराका लागि धेरै काम गरेको र चुनाव जिते थप काम गर्ने दाबी पनि गरेका छन् ।

जनाअवजको टिप्पणीहरू