सम्पादकीय : पश्चिम सेती अब नअल्झियोस्

बोलन्या थली | ५ भाद्र २०७९, आईतवार
सम्पादकीय : पश्चिम सेती अब नअल्झियोस्

सुदूरपश्चिममा पश्चिम सेती जलविद्युत आयोजना निर्माणको विषयले चर्चा पाएको वर्षौँ भयो । तर अहिलेसम्म कुनै प्रगति भएको छैन । पश्चिम सेतीको अध्ययनका नाममा अस्टे लियाको स्मेक कम्पनीले लामो समयसम्म अल्झाएर राख्यो । कर काम अगाडि बढेन ।

सरकारले पछिल्लो पटक चीनिया कम्पनी थ्री गर्जेजलाई पश्चिम सेती दियो । चीनिया कम्पनीले पनि पश्चिम सेती निर्माणमा चाँसो देखाएन । थ्री गर्जेजले काम अगाडि नबढाएपछि सरकारले उसँगको सम्झौता रद्द ग¥यो । विगतदेखिनै चर्चामा आउने तर काम अगाडि नबढ्ने पश्चिम सेती जलविद्युत आयोजना निर्माण अझै अनिश्चित छ । यद्यपि अहिले भारतीय कम्पनीले सर्भेक्षण अघि बढाउने भनेर सम्झौता भएको छ ।

भारतीय कम्पनी एनएचपीसी लिमिटेड इन्डियाले सात सय ५० मेगावाटको जलाशययुक्त पश्चिम सेती जलविद्युत् आयोजना र चार सय ५० मेगावाटको सेती नदी (एसआर) जलविद्युत् आयोजनाको सर्वेक्षण अनुमतिपत्र पाएको हो । पश्चिम सेती परियोजना भारतीय कम्पनीलाई दिने गरी समझदारीपत्रमा हस्ताक्षर बिहीबार भएको छ ।

सम्झौताअनुसार भारतीय कम्पनीले सर्वेक्षण अनुमति पाएको दुई वर्षभित्र तोकिएका विषयहरू समेत समेट्ने गरी विस्तृत परियोजना अध्ययन गरी अध्ययन प्रतिवेदन लगानी बोर्डको कार्यालयमा पेस गर्नुपर्ने छ । अहिले सम्झौता भएपछि आयोजना निर्माणले केही आशा पलाएको छ तर पश्चिम सेती अगाडि बढ्नेमा अझै आशंका छ ।

पश्चिम सेती र एसआर–६ निर्माणले सुदूरपश्चिमको मात्र नभइ देशको आर्थिक र सामाजिक विकासमा महत्वपूर्ण योगदान पुग्ने छ । अहिले भारतीय कम्पनीलाई दिए पनि स्थानीय निर्माण हुनेमा अझै आशावादी छैनन् । पश्चिम सेती निर्माणले सुदूरपश्चिमको मुहार फेरिने देखिए पनि वर्षौँदेखि चर्चामै सीमित रहँदा स्थानीय निराश छन् । दुई दशकभन्दा बढी समय स्मेकले अल्झाएर राखेको पश्चिम सेती भारतीय कम्पनीले पनि त्यस्तै अल्झाएर राख्ने काम नगरोस् ।

स्वदेशी लगानीमा निर्माण संभव नभएको अवस्थामा सरकारले विदेशी लगानी जुटाएर निर्माण गर्न खोज्नु सकारात्मक हो तर नेपालको राष्ट्रिय हितको पक्षमा रहेर आयोजना अगाडि बढाइनु पर्छ । लगानी भित्र्याउने नाममा नेपालको स्रोत उपयोग गरेर विदेशीले मात्र कमाउने र नेपालले कमाउने भन्दा गुमाउने अवस्था हुनु हुँदैन । 

जनाअवजको टिप्पणीहरू