कोरियाबाट परशुराम सम्झिदा

बोलन्या थली | १५ श्रावण २०७८, शुक्रबार
कोरियाबाट परशुराम सम्झिदा

हो म एक सचेत नागरिक को हैसियतले कयौँ प्रश्न को जवाफ बेला बेला मागिरहन्छु ।युवाहरुलाई सचेत गरिरहन्छु । खै कतिलाई मन पर्छ होला त कतिलाई पिरोल्दो होला पनि । हो बजारमा अहिले आएर सतही रुपमा एउटा आवाज चर्को रुपमा गुञ्जिरहेको आभाष भाछ । त्यो हो “स्मार्ट सिटि” , यो शब्द केन्द्रमा काठमाडौं माहानगरपालिका, प्रदेशमा उपमहानगरपालिका, र यहाँ परशुराम नगरपालिकामा ४ वर्ष अघि चुनाबी नाराका रुपमा सार्है लोकप्रिय बनेको थियो ।

हो स्मार्ट सिटी को छुट्टै आफ्नै परिभाषा छ । म यहाँ त्यस सम्बन्धमा चर्चा गर्न चाहन्न तर छोटकरीमा यति भन्छु कि काठमाडौँ मा मोनोरेल चल्ने , सफा स्वच्छ नगर निर्माण गर्ने जस्ता विषयवस्तु स्मार्ट सिटी भित्र पर्छन् भनियो । धनगढीमा शिक्षा- स्वास्थ्य सर्वसुलभ, अन्तर्राष्ट्रिय नाका, व्यवस्थित सहरीकरण, फ्रि वाइफाइ जस्ता थुप्रै सपना बाँडिएका थिए र अब कुरो गरौँ परशुराम नगरपालिका को स्मार्ट सिटि को । होला विकसित सहर का लागि स्मार्ट सिटीको परिभाषा ब्यापक अनि ग्रामिण क्षेत्रका लागि संकुचित अर्थ होला । तर मेरो नजरमा स्मार्ट सिटि भनेको सिमलबण्ड , घुम्टेगडा, कराली, मलास टुडेलाका जनताले सहजै घर अगाडि एम्बुलेन्स चढ्न पाउनु स्मार्ट सिटि हो।

एउटी प्रसब पिडामा छटपटाएकी आमाले जोगबुढा अस्पतालमै सुरक्षित बच्चा जन्माउने सेवा पाउनु र अनि एउटा हात भाचिएको सानो भाई सहि भरपर्दो प्लास्टर गर्न धनगढी, टनकपुर खटिमा, बरेलि पुग्नुपरेन, टाउकामा चोट लाग्दा सिटिस्क्यान गर्न नेपालगन्ज पुग्नु परेन र यस्ता तमाम समस्याको समाधान परशुराम मै भयो भने त्यो स्मार्ट सिटि हो, अनि सामान्य हुरि र दुई चार थोपा बर्षा हुदा बन्द हुने विद्युतको समस्या टर्नु स्मार्ट सिटि हो ।

१२ वटै वार्डका सिमलबण्ड देखि मलास सम्म, साइसौन देखि चौड सम्मका सम्पूर्ण नागरिकले घरमै बसेर बिश्व जगत सञ्चार माध्यमले खुम्चिएर सानो भइसकेको महशुस ( यहि पोस्ट पढ्दै ) गरे भने त्यो स्मार्ट सिटि हो । नगरपालिकाको पहाडी भेगमा पालिने बाख्रा, सुंगुर र लगायतको पशुपालन क्षेत्र र फलफूलले उचित मुल्य सहितको बजार पाउनु स्मार्ट सिटि हो । समथर भूभागमा तरकारी ~ अन्न तथा फलफूल उत्पादन का निम्ति सुबिधाजनक सिचाई ~मल को ब्यवस्थापन हुनु र साथै उत्पादित वस्तुले सहि मुल्य र बजार पाउनु स्मार्ट सिटि हो । परशुराम धाम, शिव लिङ्गा जस्ता पर्यटकीय क्षेत्र प्रख्यात (भाइरल) हुनु , साथै बढीभन्दा बढी पर्यटक भित्र्याइ आम्दानी बढाउनु स्मार्ट सिटि हो । युवाहरुलाई गुणस्तरीय शिक्षा र खेलकुदमा सफल अनि सक्षम बनाउन आवश्यक खेलमैदान, खेल सामग्री र प्रशिक्षक को उचित ब्यवस्थापन गर्नु स्मार्ट सिटि हो ।

नगरवासीको सुरक्षाका निम्ति चोक चोकमा आवश्यक क्यामेरा ,सडक बत्ति तथा सुरक्षाकर्मी को उचित व्यवस्थापन हुनु स्मार्ट सिटि हो । मैले पटक पटक उठाएको आवाज र माथि भनिए अनुरुप स्वास्थ्य, शिक्षा, सञ्चार, यातायात, खानेपानी ,विद्युत जस्ता क्षेत्रको सर्वाङ्गिण विकास तथा हरेक नागरिकले यि यस्ता विषयवस्तुको न्यायोचित रुपमा उपभोग गर्न पाए पाएनन् । यहाँ निर छ बहसको विषय । सुरक्षित आवास, कृषि, पर्यटन, वनजंगल, सुरक्षा क्षेत्र,विभिन्न सास्कृतिक तथा धार्मिक क्षेत्र, अनि हाम्रा मौलिक परम्पराहरु जस्ता विषयमा कत्तिको परिवर्तन आउन सफल भयो भएन त्यो कुरा गम्भिर विषय हो । हाल सम्म धेरै उपलब्धि भए पनि होलान् त कतिपय कुरा परिस्थितिबस भाषणमै सिमित भए पनि । यस्ता विषयवस्तुमा कसकसले कलम चलायौं ?

कति जनाले यस्ता विषयमा रचनात्मक विरोध गर्दै दवाव दियौँ यस्ता कुरा युवाहरुको चिन्तनको विषय बन्नु पर्छ । प्रसंग मोडौ विकासशिल राष्ट्रका युवाहरुको तुलनामा नेपाली युवाहरुको अवस्था निकै दयनिय रहेको छ । जसले गर्दा युवाहरु राज्यको मूल प्रवाहिकरणमा आउन सकेका छैनन् भने राज्यबाट पनि यथोचितरुपमा युवालाई प्राथमिकतामा राखेको महसुस हुन सकेको छैन । अधिकांश शिक्षित युवाहरु औपचारीक शिक्षा आर्जनपछि खाडी मूलुकमा आफनो श्रम सस्तो मूल्यमा बेच्न बाध्य छन् ।

तसर्थ राज्यको मूल प्रवाहिकरण भन्दा बाहिर रहेका युवा वर्गलाई लक्षित गरी उनीहरुलाई सिपमुलक , रोजगारमुखि शिक्षा र कार्यक्रम प्रदान गरि सामाजिक र राजनीतिक मूलधारमा समाविष्ट गर्नका लागि सम्पुर्ण युवाहरुबिच आपसी समझदारी तथा एक अर्कामा समन्वय हुनु आवश्यक छ १८ बर्षमुनिका बालबालिका हुन अथवा ४० बर्ष पूरा भएका प्रौढ , सबैलाई काँधमा बोकेर हिड्ने वर्ग भनेको युवा नै हो । समग्रमा शान्ति, विकास, मानवअधिकार हरेक पक्षसँग युवाको सम्बन्ध जोडिएको हुन्छ ।

कुनै पनि मूलुकलाई उन्नति वा अवनति कता लैजाने भन्ने हात युवामा हुन्छ । तसर्थ युवाहरुमा सकारात्मक सोचको विकास हुनु जरुरी हुन्छ । तसर्थ हरेक राजनीतिक दलका संगठन, पार्टीको नेतृत्व, संघसंस्थाको प्रमुख, सम्पुर्ण क्षेत्रमा नाम पटक पटक एउटै ब्यक्ति मात्रै दोहोरिने प्रथाको अन्त्य गर्न र समग्र नगरको समुन्नतिका निम्ति स्वच्छ, इमान्दार, अध्ययनशील, कर्मठ ,दृढ ईच्छा शक्ति भएको जवान व्यक्तिले दलिय निर्वाचन तथा आबधिक निर्वाचनमा स्पष्ट कार्ययोजना सहित सहभागिता हुनु अनिवार्यता छ । जो संग साँच्चिकै स्मार्ट सिटि बनाउन सक्ने क्षमता, इच्छा शक्ति छ । त्यस्तो ब्यक्तिलाई हरदम स्वागत छ ।

गणेश गौतम ( मिस्कल ) हाल कोरिया

जनाअवजको टिप्पणीहरू