भारत फर्कनेको ताँती
प्रायः सबैले पिठ्युँमा झोला भिरेका छन् । निधारमा छ साइतको टीका । नाका काटेर पारिको बस छोप्ने हतारो सबलाई छ ।
सलह आउँदा आकाश ढाकेजस्तो, उनीहरू जाँदा नेपालको सीमावर्ती जमिन छपक्कै ढाकिन्छ । यस्तै हूलमूलमा शनिबार बिहान गड्डाचौकी नाकामा कञ्चनपुरको भीमदत्त नगरपालिका–३ भासीका युवा देशको नेटो काट्दै थिए ।
भारतमा कोरोना संक्रमणले रोजगारी बन्द भएपछि उनीहरू घर आएका थिए । पछिल्लो समय कोरोना संक्रमण रोकथाम हुँदै गएपछि उनीहरू पुनः उतै काममा फर्किन लागेका हुन् ।कैलालीको गौरीफन्टा, दार्चुला खलंगाको पुलघाट नाका र बैतडीको झुलाघाटमा देश छाड्दै गरेका सयौं युवाका मलिन अनुहारको ताँती केही दिनयता नियमित देखिन थालेको छ । उसो त कैलाली र कञ्चनपुरको सीमानाका भएर भारततर्फ कामको खोजीमा नेपालीहरूको आउजाउ भइरहन्थ्यो । पछिल्लो चरणमा कोरोनाका कारण भारत र नेपालमा जारी लामो निषेधाज्ञाले आवागमन बन्दझैं थियो । अचेल फेरि नाकामा पहिलेझैं चहलपहल हुन थालेको छ ।
कोरोना संक्रमण घटेको र लकडाउन पनि खुकुलो हुँदै गएको हुनाले खेतीपातीको काम सकेर युवा काम खोज्दै भारत पस्ने क्रम सुरु भएको हो । कैलाली र कञ्चनपुर मात्रै नभएर एक सातायता दार्चुला र बैतडीका सीमानाका भएर दैनिक ज्यालादारीमा समेत कामदारहरू सीमापारिका सहर पस्न थालेका छन् ।
‘स्वदेशमा रोजगारी नै नपाएर यहाँका अधिकांश स्थानीय दैनिक ज्यालादारीमा मजदुरी गर्न भारत गइरहेका छन्,’ दार्चुलाको दुहु गाउँपालिका–५ का सन्तोष बडाल भन्छन्, ‘एक सातादेखि खलंगा नाकाबाट भारत जान पाउने भएपछि केटाहरूको ताँती लाग्न थालेको छ ।’
संकटका बेला घरमै बस्दा सुरक्षित हुने भए पनि भोको पेटका कारण बाध्य भएर मुग्लान पस्नुपरेको युवा बताउँछन् । ‘यता गाउँघरमा ज्यालादारीमा समेत काम पाइँदैन,’ दार्चुलाको महाकाली नगरपालिका–६ का धनसिंह बोहराको दुखेसो छ, ‘घरको काम सकियो, खाली बस्नुभन्दा दैनिक ज्यालादारीमै दिन काट्छु भनेर निस्केको हुँ ।’
पिथौरागढ जिल्लाको सेलाग्राम पञ्चायतमा सडकको ट्र्याक खोल्न उनी र अरू थुप्रै युवा यतिखेर सीमापारि पुगिसकेका छन् । सुदूरपश्चिमका पहाडी जिल्लाबाट यतिखेर गाउँ नै रित्तो पारेर भारत पस्नेको धुइरो लागेको छ ।दार्चुलाबाट पारि पिथौरागढका विभिन्न ठाउँमा रोजगारीका लागि जानेहरू दैनिक ४ सय ५० देखि ८ सय भारतीय रुपैयाँमा मजदुरी गर्छन् । मिस्त्रीको काम गर्ने मानिसहरूले राम्रै ज्याला पाउँछन् । यो क्षेत्रका स्थानीय नजिक भारतको सीमानाकामा बस्ने भएकाले समय–समयमा दैनिक ज्यालादारी वा ठेक्कामा मजदुरी गर्छन् ।‘धेरै जग्गा थिएन, सानोतिनो रोपाइँको काम पनि सकियो, उतातिर होटलहरू पनि खुल्न थाले,’ ७ वर्षदेखि दिल्लीको होटलमा काम गरिरहेका कञ्चनपुरको भीमदत्त–३ भासीका शिवसिंह साउद भन्छन्, ‘मालिकले पनि फोन गरेर बोलाउन थालेका छन् ।’
कञ्चनपुरको गड्डाचौकीबाट भारत छिर्नेको लर्कोमा उनी पनि सामेल भई महामारीमा देश छाड्दै थिए । उनलाई अहिले आंशिक रूपमा होटल खुलेकाले आधा तलबमा काम गर्ने गरी बेलाएको हो । साउद चैत पहिलो साता घर आएका थिए । दिल्लीमा जताततै संक्रमणका कारण अवस्था भयावह हुँदा होटलदेखि सबै क्षेत्र बन्द भएपछि उनी फर्किएका हुन् ।
यता पनि केही दिनमै निषेधाज्ञा लागू भएपछि घरबाहिर निस्कनै पाएनन् । दिल्लीमा संक्रमण कम भएपछि होटललगायत अन्य व्यापार व्यवसाय खुल्न थालेको उनले बताए । ‘दुई/तीन महिनासम्म त्यत्तिकै बस्यौं, यता पनि केही काम भएन,’ साउदसँगै दिल्ली जान लागेका भासीकै सुरेन्द्र विष्टले भने, ‘जस्तोसुकै भए पनि हामीले काम खोज्दै उतै जानुपर्ने हो, यहाँ केही काम नपाइने भयो ।’ उनी पनि ५ वर्षदेखि दिल्लीमा होटलमा काम गरिरहेका थिए ।
भारत जान पाए पनि अवस्था सजिलो भने नभएको कामको खोजीमा दार्चुलाबाट भारत पस्नेहरूको दुखेसो छ । परिवारमा भरपर्दो आयस्रोत नभएकाहरू यतिखेर जोखिम मोलेर मजदुरी गर्न भारत पसिसकेका छन् । मजदुरीको काम पाइने खबर पाएपछि एक सातादेखि गाउँको दार्चॅलाका नौगाड–६ विक्रमसिंह धामीले बताए ।
‘दैनिक ज्यालादारीमा मजदुरी नगरी घर खर्च चल्दैन,’ उनले भने, ‘त्यसो हुँदा सीमावर्ती क्षेत्रका स्थानीय घरको काम सकाएर जाने गर्छन् ।’ खास गरी दार्चॅलाका माथिल्लो क्षेत्रमा बस्ने मानिसहरू ६ महिनाका लागि मजदुरी गर्न भारतीय क्षेत्रमा बर्सेनि जाने गरेका छन् । ‘अब गौरामा घर फिर्ता आउँछौं,’ महाकाली नगरपालिका–६ का बोहराले भने, ‘कोही दसैंतिहारमा फर्कन्छन् ।’
मजदुरीकै भरमा पारिवारिक जोहो गर्दै आएका बोहरा गत फागुनमा कोरोना डरले घर फर्केका थिए । गाउँघरमा रोजगारी नपाइने भएपछि १८/१९ वर्षदेखि भारतमै मजदुरी गरिरहेको उनले बताए । केही महिनाको घरमा खाद्यान्न लगायतको अतिआवश्यक सामान जोहो गरेर उनी मजदुरी गर्न हिँडेका हुन् उनी ।
पाखोपखेराको जमिन भएकाले दार्चुलाको अधिकांश ग्रामीण बस्तीमा पुग्ने उत्पादन हुँदैन । पछिल्लो समय जनसंख्या वृद्धिले खेत घरपरिवारमा विभाजन छन् । गाउँमा पनि उब्जनी हुने खेतमा घर निर्माण गरिएका छन् ।
‘खेतमा रातदिन काम गरेर ३/४ महिनालाई खान पुग्छ, बाँकी महिना भारतमै पसिना नबगाई केही लाग्दैन,’ दार्चुलाका युवा रामसिंहले भने, ‘बुबाले भारतमै मजदुरी गरेर हामीलाई हुर्काए, छोराछोरी हुर्काउन म पनि त्यसै गर्दै छु ।’
पोहोर परारझैं यसपाला पनि पुरुषहरू भारत पस्न थालेपछि अधिकांशको घर परिवारमा बच्चा र महिला मात्र हुनेछन् सुदूरपश्चिमका अधिकांश गाउँमा । युवाहरू परदेशिनुअघि केही महिनाका लागि मुग्लान पस्न ऋण काढेर भए पनि आवश्यक सामग्री तथा खर्च जुटाउने लहर नै चल्छ ।
कोरोना संक्रमण तीव्र गतिमा फैलिइरहेका बेला चैतमा दैनिक ७/८ सयको संख्यामा नेपालीहरू घर फर्किरहेका थिए । यो उपक्रम लकडाउन अवधिभर बढ्यो । संक्रमण घट्दै गएपछि केही दिनयता घर फर्किनेभन्दा मुग्लान्निनेको संख्या बढ्न थालेको छ ।
जिल्ला प्रशासन कार्यालय कञ्चनपुरका अनुसार आइतबार गड्डाचौकी नाकाबाट १ सय २७ जना भित्रिएका छन् भने भारततर्फ जानेको संख्या ४ सय १२ छ । त्यसमध्ये केही सीमावर्ती बजारसम्म उपचार तथा पेन्सनका लागि जाने गरेका छन्, अधिकांश चाहिँ कामकै खोजीमा भारत पसेका हुन् ।
जिल्ला प्रशासनका अनुसार आइतबार कैलालीको गौरीफन्टा नाकाबाट २ सय ३० जना भित्रिएका छन् भने १ हजार ११६ जना भारततर्फ गएका छन् । शनिबार गड्डाचौकी नाकाबाट ३ सय २९ जना भारततर्फ गएका थिए भने कैलालीको गौरीफन्टा नाकाबाट १ हजार ३१४ जना भारत पसेका छन ।
‘केही दिनयता आउनेभन्दा जानेको संख्या बढी भएको छ,’ सशस्त्र प्रहरीको झलारीस्थित ३५ नम्बर गणका एसपी वीरेन्द्र ऐरले भने । उनका अनुसार भारतमा लकडाउन जारी छ । एक राज्यबाट अर्को राज्यमा सवारीसाधन आवागमनमा रोक लगाइएको छ ।
केही वर्षअघिसम्म भारतमा रोजगारीका लागि पहाडी समुदायबाट मात्रै जाने गरेका थिए । तर अचेल भने थारू समुदायका युवासमेत काम खोज्दै उत्तराखण्ड र हिमाञ्चलका पहाडहरू उक्लिन थालेका छन् ।