सामाजिक विवाद र द्धन्द्ध तथा द्धन्द्ध व्यवस्थापन

बोलन्या थली | ३ श्रावण २०७७, शनिबार
सामाजिक विवाद र द्धन्द्ध तथा द्धन्द्ध व्यवस्थापन

पृष्ठभूमिः

समाज विविध विचार, सोच, दृष्ट्रिकोण, मूल्य मान्यता, सँस्कृति, व्यवहार तथा फरक-फरक मत भएका मानिसहरुको साझा थलो हो । हरेक मानिस स्वभावतः फरक हुन्छ र उसको अर्को व्यक्ति, समाज, परिस्थिती र संसारलाई हेर्ने नजर पनि भिन्न हुन्छ । यसैले समाजमा मानिसहरुबीच विचार, काम, तथा व्यवहारमा फरकपन पाईन्छ । यस्तो भिन्नता सामाजिक परिवेश, सिकाई, संस्कृति, प्राकृतिक मानवीय गुण तथा चरित्र आदिको कारणले गर्दा देखा पर्छ । अनेक जातजाति, भाषाभाषी, धर्म, संस्कृति, वर्ग, लिङ्ग, क्षेत्र, तथा परम्परा भएको बहुल समाजमा बहुल विचारधाराका मानिसहरुको उपस्थितिका कारण विविध स्वार्थ, आवश्यकता, माग, अपेक्षा, शक्ति, अवसर तथा पहुँच रहने भएका कारण सामाजिक विवाद तथा द्धन्द्धको सिर्जना हुन जान्छ ।

विषय प्रवेशः

विभिन्न समाजमा रहेका मानिसहरुबीच सामाजिक, आर्थिक, राजनैतिक, वातावरणीय, वैचारिक, स्रोतसाधनगत तथा विकास आवश्यकता लगायतका विविध विषयका कारणले सिर्जना हुने विग्रह, मतभिन्नता, मनमुटाव, असन्तुष्टि, असहयोग, कलह, आक्रोश, रिस, द्धेष जस्ता गतिविधिहरुलाई सामाजिक द्धन्द्ध भनिन्छ । द्धन्द्ध विवादको विकसित रुप हो । विवाद अल्पकालीन प्रकृतिको हुन्छ तर द्धन्द्ध लामो अवधिसम्म रहन सक्छ ।

यसरी समाजमा विद्यमान मानिसहरुमा रहने शक्ति, पहुँच, उपलब्ध स्रोतको दोहन, विभिन्न स्वरुपका विभेद, तथा अवसहरुमा असमानता र अन्यायको महशुस हुँदा पैदा हुने असन्तुष्टि, वादविवाद, चर्काचर्की, कलह, र मानवीय तथा भौतिक क्षति भएको अवस्था सामाजिक द्धन्द्ध हो । मानिसको गुण, स्वभाव, चरित्रमा रहने फरकपनका कारण द्धन्द्धको किसिम र गाम्भीरयतामा फरक पर्दछ ।

द्धन्द्धका विशेषता

  • दुई वा दुई भन्दा बढी व्यक्ति र पक्षहरुको संलग्नता रहन्छ ।
  • व्यक्ति वा समूहहरुबीचको वैचारिक मतभेद, असन्तुष्‍टि, मनमुटाव, निहित स्वार्थ र व्यवहारको कारण सिर्जना हुन्छ ।
  • समाजमा Power, Authority, Resources, and Opportunities को समन्यायिक वितरण नहुँदा उत्पन्न हुन्छ।
  • यो संघर्षको अवस्था हो ।
  • समाजिक मेलमिलाप, सहिष्णुता, र समझदारी, आवश्यक समन्वय र अन्तरसम्बन्ध कायम नहुँदा प्रकट हुन्छ।
  • समाजको अभिन्न पक्ष हो ।
  • यो निरन्तर प्रक्रिया हो ।
  • द्धन्द्धरहित समाज सम्भव हुँदैन ।
  • द्धन्द्ध सधैं नकारात्मक हुँदैन । यसको समयमै व्यवस्थापन गर्न सके यसबाट विभिन्न लाभ हासिल गर्न सकिन्छ ।

द्धन्द्धका किसिमः

द्धन्द्ध विभिन्न कारणले हुने भएकोले यो बहुआयामिक र जटील प्रकृतिको हुन्छ । यसका किसिम अन्तर्गत देहायका द्धन्द्धहरु पर्दछन् ।

  • व्यक्तिभित्रको/अन्तरवैयक्तिक द्धन्द्ध(Intra-personal Conflict ):व्यक्तिको लक्ष्य र भूमिकामा उचित सन्तुलन नमिल्दा स्वयम्‌भित्र सिर्जना हुने द्धन्द्ध।
  • अन्तरव्यक्ति द्धन्द्ध (Inter-personal Conflict ) :दुई वा दुई भन्दा बढी व्यक्तिहरुबीचमा हुने द्धन्द्ध ।
  • अन्तरसमूह द्धन्द्ध (Inter-Group Conflict ) :व्यक्तिका विभिन्न समूहहरुबीच सिर्जना हुने द्धन्द्ध ।
  • अन्तरसंगठन द्धन्द्ध (Intra-organizational Conflict ) :संगठनका विभिन्न विभाग, शाखा, तथा एकाइबीच प्रकट हुने द्धन्द्ध ।

सामाजिक विवाद तथा द्धन्द्धका कारणहरुः

सामाजिक द्धन्द्धका विभिन्न कारणहरु हुन्छन् । यो कुनै एक खास कारण मात्र हुँदैन । समाज, परिवेश, स्वार्थ, असन्तुष्‍टि, मतभेद लगायतका विविध कुराले गर्दा सामाजिक द्धन्द्ध देखा पर्छ । जसका कारणहरु देहायबमोजिम समूहीकृत गर्न सकिन्छ ।

  • मनोवैज्ञानिक कारणहरुः
  • फरक सोच, मत तथा विचारधारा ।
  • कुण्ठा, निराशा, डर, त्रास तथा असुरक्षाको अनुभूति ।
  • विभेद भएको महसुस ।
  • नकारात्मक सोच र शंका ।
  • असफलता ।
  • पारिवारिक वातावरण, अधिक नियन्त्रण, निर्णयमा एकाधिकार र स्वतन्त्रताको कमी ।
  • सामाजिक-साँस्कृतिक तथा धार्मीक कारणहरुः
  • समाजमा विद्यमान मूल्य मान्यता, परम्परा, सोच र जात, भाषा, धर्म आदिका आधारमा हुने विभेद।
  • धार्मीक कट्टरता, अतिवाद, धर्मको राजनीतिकरण ।
  • जातीय, क्षेत्रीय र वर्गीय विभेद ।
  • स्रोत साधन विनियोजनमा असमानता र सीमान्तीकरण ।
  • सामाजिक कार्यमा सबैको समान सहभागिताको अवसरको कमी ।
  • स्थानीय योजना तर्जुमा, कार्यान्वयन, तथा विकासका लाभको असमान वितरण ।
  • स्रोत साधनको उपभोग, वितरण तथा लाभको बाँडफाँडमा समन्यायिकता र पहुँच नहुँदा ।
  • वातावरणीय अन्याय भएमा ।
  • सामाजिक हिंसा, शोषण, रुढीवादी सोच र कुप्रथा ।
  • आर्थिक कारणहरुः
  • विद्यमान गरिबी, न्यून आयस्तर र पछौटेपन ।
  • उत्पादनमा कमी, भोकमरी ।
  • न्यून रोजगारीका अवसरहरु ।
  • आर्थिक अनियमितता, घुसखोरी तथा भ्रष्‍टाचार ।
  • राजनीतिक कारणहरुः
  • फरक राजनीतिक आस्था ।
  • राजनीतिक स्वार्थ र हस्तक्षेप ।
  • शक्तिको दम्भ ।
  • खुला राजनीतिक संस्कृतिको कमी ।
  • नागरिक चेतनाको अभाव ।
  • स्रोतको दुरुपयोग ।

सामाजिक विवाद तथा द्धन्द्धका असर/प्रभाव

समाजमा देखा पर्ने द्धन्द्धले समाजको विकासमा सधैं नकारात्मक नतिजा मात्र ल्याउँदैन । द्धन्द्धलाई समयमै सम्बोधन गर्न सके समाजमा गतिशीलता, सिर्जनशीलता र उत्पादकत्व अभिबृद्धि गरी सकारात्मक प्रभाव पनि पार्दछ ।

  • सकारात्मक प्रभाव
  • द्धन्द्धतर व्यक्ति र समूहहरुले एक-अर्काको माग, सोच, निहित स्वार्थ, व्यवहार तथा एक अर्कालाई नजिकबाट बुझ्ने मौका पाउँछन् ।
  • नवीनतम सोच र चिन्तनको विकास गराउँछ ।
  • सामाजिक परिवर्तन तथा समाजिक रुपान्तरणमा सघाउ पुर्‍याउँछ ।
  • द्धन्द्धतर व्यक्ति तथा समूहका मानिसहरुमा अन्तरनिहित कुण्ठा, भावना र आकांक्षाको खुलासा गर्छ ।
  • समाजिक समस्या तथा विकृतिको पहिचान र निकासको बाटो देखाउँछ ।
  • आर्थिक,सामाजिक तथा विविध कारणले पिछडिएका, राज्यको मूलभावका समाहित हुन नसकेका, बहिष्करण र सीमान्तीकरणमा परेका वर्ग समुदायको आवाज तथा मागको सम्बोधन गर्छ ।
  • विकासमा सहकार्यता, समझदारी र सार्थक जनसहभागिताको आधार तयार गर्छ ।
  • आफ्नो हक अधिकारप्रति सजग बनाउँदै नागरिक चेतनाको अभिवृद्धि हुन जान्छ ।
  • नेतृत्व गर्ने क्षमताको विकास गर्छ ।
  • स्रोत साधनको वितरण तथा उपभोगमा समन्यायको सुनिश्चितताको माग गर्छ ।
  • अधिकारवादी सोचको विकास गराउँछ ।
  • समाजिक विभेद, कुरीति, कुप्रथा लगायतका समाजको विकास र प्रगतिको बाधकहरुको अन्त्य गर्छ ।
  • समाजिक न्याय तथा समानता कायम गर्छ ।
  • उन्नत, विकसित तथा आधुनिक सोच र कार्यशैली भएको समाजको स्थापना गर्छ ।
  • नकारात्मक प्रभाव
  • व्यक्ति र समूहहरुबीच मनमुटाव तथा मनोमानिल्य भई सम्बन्ध विग्रन्छ ।
  • सामाजिक समझदारी, सहिष्णुता, सहकार्य र एकता कमजोर हुन जान्छ ।
  • मानिसहरुबीच अविश्वास, शंका र द्धैष पैदा हुन्छ।
  • समाजमा शान्ति सुरक्षा र सद्‍भाव विग्रन्छ । सुरक्षा चुनौती जटील हुँदै जान्छ ।
  • हत्या, हिंसा, बलात्कार जस्ता सामाजिक हिंसालाई प्रोत्साहन गर्छ।
  • सामाजिक विकास, उन्नयन र प्रगतिमा बाधा पर्न जान्छ ।
  • विकास गतिविधिहरुमा अवरोध सिर्जना हुन गई विकासको लागतलाई बढाइ दिन्छ ।
  • मुलुकको अन्तर्राष्ट्रिय छवि विग्रन्छ ।
  • द्धन्द्धबाट भएको क्षति व्यहोर्न राज्यको आर्थिक भार बढ्छ।
  • स्वदेशी तथा वैदेशिक लगानी भित्र्याउने वातावरण विथोलिन्छ।
  • गरिव, असहाय तथा राज्यको मूलधारमा समाहित हुन नसकेका वर्ग, क्षेत्र झन्‌झन् सीमान्तीकृत हुँदै जान्छन्।
  • मुलुकको जनसंख्या विस्थापित हुन सक्छ ।
  • बाह्य हस्तक्षेप बढ्न गई मुलुकको सार्वभौमसत्ता तथा राष्ट्रिय अखण्डता र स्वाभिमानमा खतरा निम्तिन सक्छ।
  • सार्वजनिक सेवा वितरणमा असहजता र कठिनाई उत्पन्न हुन जान्छ ।

 द्धन्द्धको व्यवस्थापनका शैली

  • पन्छाउने शैली (Avoidance)
  • समायोजन शैली (Accommodate)
  • सहकार्य शैली (Collaborating)
  • प्रतिस्पर्धी शैली (Competing)
  • तालमेल शैली (Compromising)
Approach Avoiding Accommodating Compromising Competing Collaborating
Characteristic Behaviour Cautiously withdraws from conflict. Places higher emphasis on harmony and goodwill than “winning”. Accepts outcomes will be partially satisfying for all but not fully satisfying to anyone. Takes firm stands. Open to the positive possibilities conflict creates.

द्धन्द्ध व्यवस्थापनमा विभिन्न क्षेत्रको भूमिकाः

  • नागरिक समाज तथा समाजका अगुवाहरु
  • राजनैतिक नेतृत्व वर्ग
  • निजी क्षेत्र
  • अन्तर्राष्ट्रिय समुदाय तथा दातृ निकाय र विभिन्न मध्यस्थकर्ताहरु
  • धार्मीक तथा जातीय समुदायहरु
  • सार्वजनिक प्रशासन

टुङ्‌गो

शासन प्रणालीमा समावेशीताको कमी, सार्वजनिक प्रशासनको कार्यक्षमता तथा कार्यशैली कमजोर भएमा, सेवा प्रवाहमा कमी कमजोरी र विभेद भएमा, विकास गतिविधिहरु तथा योजना उत्पादन र कार्यान्वयन तथा लाभको उपभोगमा सबैको समान पहुँच र हिस्सा नभएमा, पूरातन सोचलाई प्रतिस्थापन गर्न नसकेमा, मुलुकको शिक्षा प्रणाली अव्यावहारिक भएमा, नैतिक शिक्षामा ह्रास आएमा र राज्यले विभेदकारी नीतिहरु लागू गरेमा पनि सामाजिक द्धन्द्ध प्रकट हुन जान्छ ।

राज्यको समाजिक आर्थिक विकास लक्ष्य र जनताका विकास आकांक्षाहरुबीच तालमेल नमिल्दा द्धन्द्धको सिर्जना हुन सक्छ ।यस्तै सरकार, नीति निर्माता तथा सरोकारवाला पक्षहरुले मुलुकको विकास योजना कोर्दै गर्दा जनताका वास्तविक माग, मुलुकको विद्यमान आर्थिक हैसियत, स्रोतको उपलब्धता, तिनको उपयोग गर्ने क्षमता र कार्यान्वयन गर्ने संयन्त्रको मिहिन विश्लेषण, सघन अध्ययन तथा छलफलविना विकास र समृद्धिको छलाङ्ग मार्ने कागजी खाकाले जनतामा वितृष्णा र निराशा उत्पन्न हुन जान्छ ।

त्यसैले समाजिक विवाद तथा द्धन्द्धको न्यूनिकरण र व्यवस्थापनको लागि मुलुकको शासन प्रशासन तथा सरकारको कार्यशैली र व्यवहारलाई जनताकेन्द्रित, लोकतान्त्रिक तथा विधि र पद्धतिसम्मत बनाउनु पर्छ । राज्यले निर्माण गर्ने योजना, सञ्चालन गर्ने विकास क्रियाकलापहरुमा सबै जातजाती, भाषाभाषी, वर्ग, लिङ्ग तथा क्षेत्रका आमजनताको सार्थक र समन्यायिक सहभागिताको सुनिश्चितता कायम गर्ने खालको नीति निर्माण गरी शासन र प्रशासनबाट सिर्जित लाभको समन्यायिक तवरलेसम्पूर्ण वर्ग, समुदाय र क्षेत्रका आमजनतामा हिस्सा लगाउन सक्नु पर्छ । विकास निर्माण गर्दा जनताको वास्तविक विकास चाहना, राज्यको आर्थिक सक्षमता, खर्च क्षमता, वातावरणीय पक्ष लगायतका विषयलाई ध्यान दिई राज्यका विकास नीति, कानून, कार्यक्रम तथा क्रियाकलापहरु दीगो र जनताको हितमा रहे नरहेको निर्क्योल गरी विकास गतिविधिहरु अघि बढाउनु पर्छ ।

साथै राष्ट्रिय सुरक्षा व्यवस्थापनलाई सुदृढ बनाई समाजमा व्याप्त समाजिक अपराध, हिंसा, तथाअवैधानिक गतिविधिको नियन्त्रण, र असन्तुष्ट पक्षहरुको समयमै उचित सम्बोधन गरी मुलुकमा शान्ति सुव्यवस्थाको अनुभूति आमजनतामा गराउन सक्नु पर्छ । यसो गर्न सके द्धन्द्धको सम्भावना न्यून हुने र विद्यमान द्धन्द्धका विभिन्न स्वरुपहरुको व्यवस्थापन र समाधान हुन गई शान्ति सुव्यवस्था, विकास तथा मुलुकले लिएको “समृद्ध नेपाल सुखी नेपाली” को राष्ट्रिय आकांक्षालाई मूर्त रुप दिन सकिन्छ ।

खगेन्द्र प्रवाह

शाखा अधिकृत (अधिकृतस्तर सातौ) आर्थिक मामिला तथा योजना मन्त्रालय, कैलाली।

जनाअवजको टिप्पणीहरू