द.कोरियामा औपचारिक शिक्षाले सिकाएको अनौपचारिक ज्ञान

बोलन्या थली | २६ असार २०७७, शुक्रबार
द.कोरियामा औपचारिक शिक्षाले सिकाएको अनौपचारिक ज्ञान

सुदूर पश्चिमको डोटी जिल्लामा मेरो जन्म भयो। सर्वप्रथम जीवन र जीवनज्ञान दिने आमा-बुबाप्रति नमन गर्दछु। सानैदेखि पढाई प्रति प्रेरित गर्ने र हौसला दिने मेरो बुबा, सधैँ साथ दिने मेरो सम्पूर्ण परिवार , यहाँसम्म पुग्न अमूल्य योगदान दिने सम्पूर्ण गुरुहरु, अग्रजहरु, साथीहरु र प्रत्यक्ष-अप्रत्यक्ष रुपमा सहयोग गर्ने सबैमा हार्दिक कृतज्ञता व्यक्त गर्दछु। दक्षिण कोरियामा सिकेका कुराहरु साट्दै गर्दा सर्वप्रथम दक्षिण कोरिया आउने ढोका खोलिदिने आदरणीय अग्रज डा. तारामान कडायत ज्यू प्रति विशेष धन्यवाद र उच्च सम्मान व्यक्त गर्दछु। नेपाली समाजमा अलिकति भए पनि कुनै न कुनै रुपमा सकारात्मक संदेश जाओस भन्ने हेतुले दक्षिण कोरियामा बस्दै गर्दा सिकेका औपचारिक शिक्षा बाहेकका केही कुराहरु यहाँहरु माझ साट्न चाहन्छु।
दक्षिण कोरियामा आर्जित ज्ञान मध्यको सबैभन्दा सुन्दर कुरा हो मेहनत। भन्दा तीतो लाग्छ तर नेपाली समाजमा काम गर्न सक्षम ( बालक र बृद्ध वाहेक) वर्गमा पनि कामै नगरी खानेको जमात ठूलै छ। कोरियामा मलाई पढाउने प्राध्यापक उमेरले ६०(अन्दाजी ) नाघ्नु भयो होला तर आहोरात्र काम गर्नु हुन्छ। यहाँ काम नगरी खान पाइन्न भन्ने टुक्का जीवनमा लागु हुन्छ। उमेरले अन्दाजी ७०-८० नाघेका हजुरआमाले सडकमा भएका फोहोरहरु संकलन गरेर सकिनसकी घिसारेर जीविकोपार्जन गरिरहेको मैले आफैले देखेको छु। नेपालमा हुँदा अल्छी गर्ने म आफैँ यहाँ आएर प्रयोगशालामा राती ११-१२ बजे सम्म काम गर्ने भएको छु। कामै नगरी खाने त भाग्यमानी हो भन्ने चलन छ नेपालमा। त्यसरी कामै नगरी खाँदा केहीको त भाग्य फेरिएला तर देशको मुहार पक्कै पनि फेर्न सकिन्न। नेपालमा अवसर नै छैन कामको लागि भन्ने तर्क केही हदसम्म सही नै होला तर अवसरकै मुख ताक्नु भन्दा आफूमा जे क्षमता छ तेही अनुरुप काम गरी आफू सहित देश र समाजको विकासमा लाग्दा राम्रो हुन्थ्यो। यद्दपि आफ्नो जीविकोपार्जनका साथै देश र समाजका लागि अहोरात्र खट्ने हरुका लागि मेरो उच्च सम्मान छ।
दक्षिण कोरियाको अर्को सुन्दर पक्ष्य हो देशभक्ति। एकदिन नेपालमा भएका एकजना मित्रसंग देशभक्तिका सन्दर्भमा कुरा गर्न खोज्दा देश छोडेर विदेश जानेले देशको मायाको कुरा गर्न सुहाउदैन भन्ने तर्क पाएँ। म त्यसमा तर्क गर्न चाहन्न। मैले देखेको दक्षिण कोरियालीहरुको देशभक्ति बेग्लै छ। कहिलेकाहीं सरकारी काम-काजमा जाँदा हरेक कर्मचारीले इमान्दारिताका साथ नम्र भएर नियम भित्र रही समयमै काम गरेको पाउँछु। विश्वविद्यालयमा विद्यार्थीहरुले आन्दोलनभन्दा मेहनत गरेर पढेको देख्छु, सार्वजनिक स्थलमा चर्को स्वरले देशभक्तिको बारेमा नारा लगाएको देख्दिन, चुनाब प्रचार-प्रसार पनि कमै देख्छु, पालो कुर्दा सभ्य भएर कुरेको देख्छु(चाहे जुनसुकै तह र तप्काको व्यक्ति किन नहोस), सवारी साधनहरु नियम अनुसार चल्छन। हरेकले देशको बारेमा बोल्ने भन्दा आ-आफ्नो काम इमान्दारिताका साथ गर्छन। छोटो समयमै देशले कायापलट फेरेको छ। सायद येही किसिमको देशभक्तिले होला। अन्धभक्त भएर कुनै पार्टीको नेताको वरिपरि घुमेर चर्को आवाजमा खोक्रो देशभक्तिको नारा लगाउनु भन्दा बरु सडकमा खसेको एउटा फोहोरको टुक्रा उचित स्थानमा समायोजन गर्दा बढी देशभक्ति हुन्थ्यो कि ?
यहाँ आएर सिकेको अर्को पाटो हो अनुशासन। नेपाली समाजमा अनुशासन भनेको नियमको पालना भन्ने अर्थ लाग्न थालिसक्यो अर्थात् नियम छैन भने अनुशासनको अर्थ नै छैन। कोरियाली समाज नियम भन्दा पनि अनुशासनले मजबुत छ। मेरो प्रयोगशाला जाने समय बिहानको ९ बजे हो। प्राय: सबैजना १ मिनेट पनि ढिलो गर्दैनन्। प्राध्यापक कुनै दिन बैठकमा ५ मिनेट ढिलो हुँदा माफी माग्नु हुन्छ। आफ्नो पद र मर्यादा भन्दा पनि उमेरले आफूभन्दा अग्रजको सम्मान गरेको देखिन्छ। सडकमा हरेक ठाउँमा डस्टबिनहरु (फोहोरदानी) छन्। कसैले पनि सडकमा जथाभाबी फोहोर फल्दैन। डस्टबिन भेटिएन भने खल्तीमा पोको पारेर राख्छन। यस्ता अरु थुप्रै उदाहरणहरू छन् जसले कोरियाको विकासमा टेवा पुगेको छ।
यस्ता अरु थुप्रै कुराहरु छन् जसले कोरियालाई साच्चै नै सुन्दर बनाएको छ। हरेक व्यक्तिले आफ्नो जिम्मेबारी पुरा गरेको छ। सामाजिक सुरक्षा उच्च छ। एउटा नारी राती १२ बजे सडकमा निर्धक्क भएर हिंड्न सक्छिन। देश आज बिहान-बेलुकी कसरि छाक टार्ने भन्दा पनि कसरि शक्तिशाली बन्ने भन्ने सोच्दैछ। यी सबै कुराहरु आफै भएका होइनन। देशको सरकारको साथै हरेक नागरिकको उत्तिकै साथ र सहयोग छ। होटेल तथा रेस्टुरेन्टहरुमा ग्राहकलाई उच्च सम्मान तथा नम्र व्यवहार गरिन्छ। हरेक सार्वजनिक स्थानहरुमा व्यायाम गर्ने साधनहरु छन्। नेपाली समाजमा यस्ता स्रोत साधनहरु राख्दा चोरी हुने, तोडफोड हुने घटनाहरु सुन्ने गरिन्छ। देश र समाज निर्माणमा नागरिकका यस्ता बानीले निकै टेवा पुगेको छ।
दक्षिण कोरियाका हेर्दा सामान्य लाग्ने यस्ता सकारात्मक कुराहरु लेख्दै गर्दा मैले नेपालमा भएका सकारात्मक कुराहरुको ढाकछोप गरी नकारात्मकता फैलाएको नबुझिदिन बिनम्र अनुरोध गर्दछु। हाम्रो देश सुन्दर अबसरहरुले भरिपूर्ण छ। हाम्रो संस्कृति सम्मान जनक छ जसमा हामी आफैले बिकृति ल्याएका छौं। बुद्ध जन्मेको देश भनेर घमण्ड गर्नु भन्दा बुद्धले सिकाएको बाटोमा हिडौं। सगरमाथाको जस्तै देशको पनि उचाई बढाउन आत्मनिर्भर हुन सिकौं। अन्धभक्त भएर राजनीति गर्दै खोक्रो भाषण गर्दै हिड्नुभन्दा देशमा रहेका युवाहरुलाई जनचेतना जगाउदै एकजुट भएर लाग्न अनुरोध गर्दछु। अन्त्यमा दक्षिण कोरिया तथा अन्य देशहरुमा रहेका बुद्धिजिबी, अग्रज , विद्यार्थी तथा साथीहरुले आफ्नो निश्चित समयमा ज्ञान र सिप आर्जन गरी सके सम्म देशमै फर्केर देशको सेवा गर्नुहुनेछ , नसके बिदेशमै रहेर भए पनि देशको लागि कुनै न कुनै रुपमा योगदान गर्नुहुनेछ भन्ने अपेक्षा लिएको छु।

उत्तम ओझा
क्यंगबूक विश्वविद्यालय , दक्षिण कोरिया

जनाअवजको टिप्पणीहरू