कविता : विचार के हो ?

बोलन्या थली | २९ जेष्ठ २०७७, बिहीबार
कविता : विचार के हो ?
  • बिलय सागर
    बिचार के हो ? वाद के हो ?
    मलाई केही थाह छैन।
    तर भोकाले खान पाउनु पर्छ
    नाँङ्गाले लाउन पाउनु पर्छ
    रोगले सुकेका जीउहरुले
    औषधीमुलो पाउनु पर्छ ।

    सिद्धान्त के हो ? व्यवस्था के हो ?
    मलाई केही थाह छैन।
    गरिखान काम पाउनु पर्छ
    कामको माम पाउनु पर्छ
    आफ्नो अधिकारको रक्षाका लागि
    निर्धक्क बोल्न पाउनु पर्छ ।

    सत्ता के हो ? सरकार के हो ?
    मलाई केही थाह छैन।
    गरिबले पढ्न पाउनु पर्छ
    अगाडी बढ्न पाउनु पर्छ
    दुरदराजका झुपडीहरुले
    मोटर चढ्न पाउनु पर्छ ।

    पुँजीवाद के हो ? साम्यबाद के हो ?
    मलाई केही थाह छैन ।
    झुपडीमा उज्ज्यालो आउनु पर्छ
    ओठमा हाँसो छाउनु पर्छ
    रोएर जिन्दगी काट्नेहरुले
    हाँसेर बाँच्न पाउनु पर्छ ।

जनाअवजको टिप्पणीहरू